धरान । सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ३ का १ जना पुरुषको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । ६३ वर्षीय उनको शुक्रबार राति साढे १ बजेको समयमा धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको हो ।
यसभन्दा अगाडि विराट मेडिकल कलेज विराटनगरमा उपचार गराइरहेका उनी असोज ८ गते प्रतिष्ठानमा भर्ना भएका थिए । भर्ना भएको दिनमा नै स्वाब संकलन गरेर परीक्षण गर्दा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
अस्पताल भर्ना हुनुभन्दा केही दिन अगाडिबाट मात्र उनमा श्वासप्रश्वासमा समस्या सहित ज्वरो तथा खोकीको समस्या देखिएको थियो । उनमा दीर्घ रोग भने नभएको बताइएको छ । स्वास्थ्य अवस्था गम्भीर बन्दै गए पछि भन्टिलेटरमा राखेर उपचार गरिएकोमा उनको शुक्रबार राति मृत्यु भएको हो ।