त्रिवेणी इन्दरनेशनल कलेज पोखरा २७ ले गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. इन्द्रप्रसाद तिवारीको सम्मानमा सोमबार स्वागत तथा बधाई कार्यक्रम गरेको छ ।
प्रा.डा. तिवारी केहीसमय अघि गण्डकी विश्वविद्यालयको कुलपतिमा नियुक्त हुनु भएको थियो । सम्मान कार्यक्रममा बोल्दै कुलपति तिवारीले विद्यार्थीलाई एकेडेमीक कोर्षको समयावधिभर टिकाउन कलेज तथा विश्वविद्यालयलाई चुनौती रहेको बताउनु भयो ।
पछिल्लो समय विद्यार्थीको भर्ना र कोर्ष समाप्तीसम्म संख्यामा उल्लेख गिराबट आउने गरेको उल्लेख गर्दै, भर्नाकै संख्या कायम राख्ने तर्फ कलेजहरुलाई अगाडी बढाउनु पर्नेमा जोड दिनु भयो ।
कुलपति तिवारीले गण्डकी विश्वविद्यालयलाई प्रविधिमा आधारित शिक्षाको हवका रुपमा विकास गर्ने गरी कार्य प्रारंभ भएको उल्लेख गर्दै, थप नयाँ कार्यक्रम ल्याउन छलफल गरिएको बताउनु भयो ।
यसअघि कलेजका प्राज्ञिक सल्लाहकार समेत रहनु भएका कुलपति तिवारीले अनुसन्धानको क्षेत्रमा त्रिवेणी इन्टरनेशनल कलेजलाई सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।
कार्यक्रममा कलेजका सल्लाहकार बाबुराम गिरीले कुलपति प्रा.डा. तिवारीले विश्वका विभिन्न विश्वविद्यालयमा अध्यापन गराएको अनुभवले गण्डकी विश्वविद्यालय उत्कृष्ट हुनेमा जोड दिनु भयो ।
कलेजका अध्यक्ष सुमन भट्टराईले प्रा.डा. तिवारीलाई सम्मान गर्दै, त्रिभुवन विश्वविद्यालयबाट सम्वन्धन प्राप्त गरेको कलेज भए पनि शैक्षिक सुधार र अनुसन्धानको क्षेत्रमा सहकार्य गरेर अगाडी बढ्न सकिने बताउनु भयो ।
उहाँले प्रा.डा. तिवारी कुलपतिमा नियुक्त हुँद्या कलेजले एकेडेमिक कोर्षमा थप सल्लाह र सुझाव प्राप्त गर्ने विश्वास व्यक्त गर्नु भयो ।
संक्रामक तथा सरुवा रोग अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम जमरकट्टेलले गण्डकी विश्वविद्यालयमा उपयुक्त व्यक्तिको नियुक्ती भएको उल्लेख गर्दै, विद्यार्थी टिक्ने खालका कार्यक्रम ल्याउन सुझाव दिनु भयो ।
कलेजका अध्यक्ष सुमन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा कलेजका प्राचार्य यदुनाथ आचार्य, सहायक क्याम्पस प्रमख डिल्लीराम पौडेल लगायतले शैक्षिक उन्नयनका लागि सहकार्य गरेर जानु पर्नेमा जोड दिनु भएको थियो ।
