नेपालमा कोरोना संक्रमणको दर बढेको बढ्यै, आजै २ हजार २० जनालाई संक्रमण पुष्टि, थप ७ जनाको मृत्यु

पोखरा । नेपालमा थप २ हजार २० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यो नेपालमा अहिलेसम्म भेटिएको कोरोना संक्रमितको उच्च दर हो ।

यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६१ हजार ५ सय ९३ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा ११ हजार ४ सय ८३ जनाको नमुना परीक्षण गरिएको थियो । हाल नेपालमा १७ हजार १ सय ८३ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् ।

डा.गौतमका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा ८ सय ७१ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । यससंगै नेपालमा कोरोनामुक्त हुनेको कुल संख्या ४३ हजार ८ सय २० जना पुगेको छ ।

नेपालमा हाल मोरङ, सुनसरी, सिराहा, काठमाडौं, भक्तपुर, ललितपुर, ललितपुर, मकवानपुर, चितवन तथा रुपन्देहीमा ५ सयभन्दा बढी सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् । त्यस्तै संक्रमणमुक्त हुने जिल्लामा सोलुखुम्बु, रसुवा, मुस्ताङ, डोल्पा, मुगु तथा हुम्ला रहेका छन् ।

पछिल्लो २४ घण्टाको अवधीमा नेपालमा कोरोना भाइरस संक्रमणबाट ७ जनाले ज्यान गुमाएका छन् । यसरी ज्यान गुमाउनेमा २ महिला तथा ५ पुरुष छन् । कोरोना संक्रमणबाट काठमाडौंकी ८५ वर्षीय तथा ललितपुरकी ६६ वर्षीय महिलाले ज्यान गुमाएका छन् ।

त्यस्तै मोरङका ६६ वर्षीय २ जना, काठमाडौंका ८८ वर्षीय, भक्तपुरका ८२ वर्षीय तथा नवलपरासीका ३१ वर्षीय पुरुषको समेत कोरोनाबाट ज्यान गएको छ । यससंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ३ सय ९० पुगेको छ ।

कमेन्टहरु
Loading...