सोलुखुम्बुको नाजिङमा पहिरोले १ घर बगायो, ४ जोखिममा

सोलुखुम्बु । वर्षात् सहितको पहिरोले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका २ नाजिङमा १ घर बगाएको छ भने ४ घर जोखिममा परेका छन् । पहिरोको कारण स्थानीय जीत कुविर राईको ढुंगा माटोले बनेको २ तले घर पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक महेन्द्र दर्नाल जानकारी दिएका छन् । ५ जनाको परिवार बस्दै आएको घरमा आज बिहान पहिरो जाँदा भागेर ज्यान बचाउन सफल भएको राईले बताए ।

सोही पहिरोका कारण स्थानीय जसविर राई, हर्कजित राई, भीमकुविर राई र रामकुमार राईको घर समेत उच्च जोखिममा परेको छन् । उनीहरुलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको प्रहरी निरीक्षक दर्नालले जानकारी दिएका छन् ।

यसैबीच खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नं १ खरिखोलाको जौँबारी टोलका पहिरो पीडित र विपन्न परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । वडाध्यक्ष ङिमादोर्जी शेर्पाको पहलमा पासाङ ल्हामु फाउण्डेसनले नगद सहयोग गरेको स्थानीय पासाङकाजी शेर्पाले जानकारी दिएका छन् ।

जौंबारीका ७ जना पहिरो पीडित र अन्य १३ परिवारलाई जनही ४ हजार ६ सय ४० वितरण गरिएको छ । रासस

कमेन्टहरु
Loading...