सिन्धुपाल्चोक । लगातारको वर्षाले जिल्लाको बाह्रविसे नगरपालिका–७ घुम्थाङको नागपुजेमा गए राति खसेको पहिरोमा पुरिएकी एक महिलाको शव फेला परेको छ । नागपुजेमा एक जनको शव भेटिएको आफूले सूचना पाएको बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले बताए ।
इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले नागपुजेमा सात घरका १७ जना बेपत्ताको सूची निकालिएको जानकारी दिए । नागपुजेमा कम्तीमा आठ घर र भीरखर्कमा कम्तीमा १० घर पुरिएको खबर छ ।
पहिरो प्रभावितलाई भेट्न सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोक आउँदै छन् । सभामुख सापकोटा त्यसतर्फ प्रस्थान गर्नुभएको सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । मौसम अनुकूल भए उद्धारका लागि हेलिकोप्टर पनि पठाउने तयारी भइरहेको छ ।
रासस