तनहुँ । जिल्लाको व्यास नगरपालिका वडा नं १३ र १४ अन्तर्गत पर्ने गुँदीफच्याङ ग्रामीण कच्ची सडक २८ वर्षपछि कालोपत्रे गर्न थालिएको छ । सदरमुकाम दमौलीदेखि झण्डै १४ किलोमिटर दूरीमा रहेको उक्त ग्रामीण सडक कालोपत्रे गरिन लागेको हो । सो मार्गबाट व्यास नगरपालिका, बन्दिपुर गाउँपालिका हुँदै पृथ्वीराजमार्ग अन्तर्गत डुम्रे बजार पुगेर जोडिएको छ ।
सो सडकमा यसअघि ग्राबेल, नाला निर्माण र आवश्यक स्थानमा ह्युमपाइप राखेर यातायात सञ्चालन भएको थियो । विसं २०४८ पछि कच्चीमार्गको रुपमा सडक चलेपनि कालोपत्रे नहुँदा वर्षामा हिलोले कष्टकर यात्रा गर्नुपर्ने बाध्यता छ । नगरपालिकाको १४ नं वडा केशवटारस्थित रुम्सी ढाक्रेस्वाँरा चोकदेखि आँपटोल डाँडासम्म करिब ६०० मिटर दूरी कालोपत्रे गर्न थालिएको वडाध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिए ।
गण्डकी प्रदेशको समानीकरण बजेट व्यास नगरपालिकामार्फत आएपछि सडक कालोपत्रे थालिएको हो । रु एक करोड २५ लाखको समानीकरण बजेट विनियोजन पश्चात कालोपत्रे कार्य थालिएको हो । गण्डकी प्रदेश सरकारबाट उक्त मार्ग कालोपत्रे गर्नका लागि गत वर्ष डेढ करोड र यसवर्ष सवा करोड विनियोजन गरेपनि टेण्डर नै नगराई काम रोकिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।
गतवर्ष र यसवर्ष बजेट विनियोजन गरी काम नगरेपछि स्थानीयवासी डेलिगेशन जाने तयारीमा जुटिरहेको उनले बताए। व्यास नगरपालिकाद्वारा विनियोजित रु एक करोड बजेट रकमले दमौली बजारबाट केशबटार जाने उक्त सडक मार्गको पनि कालोपत्रे कार्य थालिएको छ । दमौली–केशवटार गुदीफच्याङ मार्गको करिब १४ किलोमिटरमध्ये हालसम्म करिब ४ किलोमिटर सडक मार्ग कालोपत्रे सम्पन्न भैसकेको बताइएको छ ।
रासस