चितवन । जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार ५ पुगेको छ । आइतबार राति चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनका १९ सहित ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जिल्लाका १९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १ हजार ५ पुगेको हो । चितवन मेडिकल कलेजको नतिजाअनुसार संक्रमित हुने अन्यमा मकवानपुरका ८, तनहुँका २ र नवलपुरका १ जना रहेका छन् ।
हालसम्म जिल्लाको भरतपुर महानगपालिकामा मात्र संक्रमितको संख्या ६ सय ५७ जना पुगेको छ । यस्तै जिल्लाका पाँच नगरपालिकामध्ये रत्ननगरमा १ सय २२, राप्तीमा ९७, खैरहनीमा ५४, माडीमा ५२ र कालिकामा १९ जना पुगेका छन् । इच्छाकामना गाउँपालिकामा संक्रमितको संख्या ४ रहेको छ ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार संक्रमितमध्ये १ सय ८० जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो पटक थपिएका १९ बाहेक जिल्लामा रहेका अन्य संक्रमितमध्ये होम आइसोलेसनमा २ सय ५५ र संस्थागत आइसोलेसनमा ५ सय ३९ जना रहेका छन् ।
संक्रमितमध्ये महिला ४ सय ४ र पुरुष ५ सय ७८ रहेको कार्यालयले जनाएको छ । जिल्लामा १२ संक्रमितको मृत्यु भइसकेको छ । जिल्लाका अस्पतालहरुमा मृत्यु हुनेको संख्या २२ पुगेको छ । यस जिल्लामा गत वैशाख ५ गते पहिलो पटक संक्रमण देखिएको थियो । रासस