कोरोना परीक्षणपछि मात्रै क्यान्सरको उपचार

काठमाडौं । कोरोनाको जोखिम उच्च बन्दै गएपछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले कोरोनाको पिसीआर परीक्षणपछि मात्रै क्यान्सरको उपचार थाल्ने भएको छ । देशका विभिन्न जिल्लाबाट क्यान्सरका बिरामी उपचारका लागि आउने भएपछि अस्पतालले सङ्क्रमण फैलन नदिन सबै बिरामीको पिसीआर परीक्षण अनिवार्य गरेको हो ।

क्यान्सरका बिरामीको उपचारका क्रममा अन्य रोगसँग लड्ने क्षमता कमजोर हुने भएकाले कोरोना परीक्षणपछि मात्र उपचार गरिने अस्पतालले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले कोरोना सङ्क्रमितलाई अन्य बिरामीसँग राखेर उपचार गरेको खण्डमा सो बिरामीबाट अन्य बिरामी र कर्मचारीलाई सर्ने र अवस्था भयावह हुनसक्ने बताए ।

कोरोनाको उपचार दुई हप्तामा निको हुनसक्ने अवस्थामा निको भइसकेपछि मात्र क्यान्सरको उपचार शुरु गर्दा फरक नपर्ने गौतमले जानकारी दिए । अस्पतालले कोरोनाको सङ्क्रमणबाट जोगाउन एक बिरामी एक कुरुवाको नियम अनिवार्य गरेको छ ।

अस्पतालका आकस्मिक र बहिरङ्ग सेवा नियमित पूर्ववतरूपमा सञ्चालन भइरहेको निर्देशक गौतमले जानकारी दिए । उनले पिसीआर परीक्षण ल्याब केही दिनभित्र सञ्चालनमा ल्याइने तयारी भइरहेको जनाए । क्यान्सर अस्पतालका मात्रै ४२ स्वास्थ्यकर्मी र कर्मचारीको कोभिड–१९ पुष्टि भएको छ ।

तीमध्ये सात जना निको भइसकेका छन् । सामान्य अवस्थामा दैनिक ७ सय देखि ८ सय बिरामीले उपचार गर्ने क्यान्सर अस्पतालमा अहिले एक चौथाइ बिरामी मात्र उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ ।
रासस

कमेन्टहरु
Loading...