भक्तपुर, मंसिर ३०। राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले विहीबार कक्षा–११ का सबै विषयको नियमित परीक्षाको परीक्षाफल सार्वजनिक गरेको छ । गत जेठमा उच्च माध्यामिक शिक्षा परिषदले सन्चालन गरेको उक्त परीक्षामा ५१ दशमलव ७१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिए । परीक्षामा दुई लाख ६६ हजार एक सय तीन सहभागी भएकामा एक लाख ३७ हजार ६०५ परीक्षार्थी उत्तीर्ण भएका छन् ।

गत वर्षभन्दा यस वर्ष २ दशमलव ५१ प्रतिशत परीक्षार्थी बढी उत्तीर्ण भएका हुन् । परीक्षामा सहभागीमध्ये ३३ परीक्षार्थीको परीक्षा रद्द गरिएको छ ।परीक्षामा एक विषय अनुत्तीर्ण विद्यार्थीका लागि भने बोर्डले आगामी माघ ८ गते परीक्षा लिने निर्णय गरेको छ ।बोर्डले कक्षा–११ को आंशिक परीक्षाको परीक्षाफल भने गत मंगलबार सार्वजनिक गरेको थियो ।
विगतका वर्षमा कक्षा–११ को नियमित र आंशिकको नतिजा एकैपटक प्रकाशन गर्ने गरे पनि यसपटक भने नियमित परीक्षाको नतिजाभन्दा अगाडि नै आंशिक परीक्षाको नतिजा सार्वजनिक गरेको थियो ।कक्षा–१२ उत्तीर्ण भइसकेका तर कक्षा–११ को आंशिक परीक्षा दिएका परीक्षार्थीमध्ये उत्तीर्णले यसै वर्ष स्नातक तह भर्ना हुन पाऊन् भनेर नियमित परीक्षाभन्दा आंशिक परीक्षाको परीक्षाफल एक साताअघि नै सार्वजनिक गरिएको हो ।