पोखरा, २२ मंसिर /निर्माण व्यवसायीहरुबीच भाईचाराको विकास होस् भन्ने हेतुले पोखरा र यस क्षेत्रमा रहेका निर्माण व्यवसायीहरुको भेला हुने भएको छ । नवौँ निर्माण व्यवसाय दिवसको अवसर पारेर भेलाको आयोजना भएको हो । निर्माण व्यवसायी संघ कास्कीको सँयोजनमा यो भेला मंसिर २४ गते शुक्रबार पोखरामा हुन लागेको हो । यसरी संस्थागत रुपमा निर्माण व्यवसायीहरुको भेला हुन लागेको यो पहिलोपटक हो ।
‘असाप इन्टरटेनमेन्ट’को व्यवस्थापनमा हुने भेलामा पोखरासँगै काठमाण्डौ र यस क्षेत्रका निर्माण व्यवसायीहरु भेला हुने आयोजकले बताएको छ । भेलामा निर्माण व्यवसायीहरुको पछिल्लो अवस्थाको बारेमा अन्तरक्रिया हुने संघका कार्यवाहक अध्यक्ष सुरेश श्रेष्ठले जानकारी दिए । ‘निर्माण व्यवसायमा धेरै चुनौतीहरु छन् । र, उत्तिकै संभावना पनि ।’ उनले भने–‘यद्यपी विकासको मेरुदण्ड मानिने निर्माण व्यवसायलाई राज्यले बेवास्ता गरेको अहिलेको अवस्था छ ।’ यस्तै विषयलाई भेलामा अन्तरक्रियात्मक रुपमा छलफल गरिने उनले बताए ।
त्यस्तै निर्माण व्यवसायी संघ कास्कीका पूर्वअध्यक्ष चिरञ्जिवि पोखरेललेले भेलाले निर्माण व्यवसायीहरु कसरी संगठित रुपमा अगाडि बढ्ने भन्ने विषयमा समेत निक्र्यौल गर्ने जानकारी दिए । ‘विभिन्न खाले समस्याहरु निर्माण व्यवसायको क्षेत्रमा देखिएका छन् ।’ उनले भने–‘यी समस्यालाई कसरी सम्बोधन गर्ने र निर्माण व्यवसायलाई कसरी अगाडि बढाउने भन्ने विषयमा नै हामी केन्द्रित रहनेछौँ ।’
भेला अन्तरक्रियात्मक हुनुको साथै केहि मनोरञ्जनात्मक पनि हुनेछ । चर्चित हाँस्यव्यङ्गकार सन्दीप क्षेत्री, नायिका नम्रता सापकोटा, गायक उदय सोताङ, गायिका मनिला सोताङ, किशोर कुमारको प्रस्तुती रहने इभेन्ट म्यानेजमेन्ट कम्पनी असापका निर्देशक प्रदिन पहारीले जानकारी दिए । त्यो सँगै निर्माण व्यवसायलाई नै ‘थिम’ बनाएर मोडलहरुले ‘रनवे’मा बिरालो चाल समेत चाल्ने कम्पनीका अर्का निर्देशक सन्तोष अधिकारीले जानकारी दिए ।
कास्कीमा संघ अन्तरगत ८० वटा निर्माण व्यवासायी कम्पनी दर्ता छन् । संघ बाहेक अरु थुप्रै नीजि कम्पनीहरुले समेत निर्माण व्यवसायको काम गर्दै आएका छन् । यो सबै संख्या करिब ३ सय ८० पुग्ने बताईएको छ । निर्माण व्यवसाय क्षेत्रमा ३ हजार भन्दा बढी मजदुरले रोजगारी पाएका छन् । ती मध्ये १५ प्रतिशत मजदुर विदेशी छन् ।