विश्व कविता दिवसका सन्दर्भमा विशेष कविगोष्ठी

पोखरा, ७ चैत्र /पोखरेली युवा साँस्कृतिक परिवारले विश्व कविता दिवसको सन्दर्भमा विशेष कवि गोष्ठी सम्पन्न गरेको छ । साथै हरेक महिनाको पहिलो शनिबार सञ्चालन गर्दै आएको समता काव्य सन्ध्याको २७३ औं शृङ्खला शनिबार पोखरामा सम्पन्न भयो ।
युनेस्कोले सन् १९९९ मा मार्च २१ लाई विश्व कविता दिवसको रुपमा घोषणा गरी सन् २००० मा औपचारिक रुपमा विशेष कार्यक्रम गरेको थियो नेपालमा सन् २००२ देखि मनाउन सुरु गरिए पनि पोखरामा सन्दर्भ पारेर विशेष कवि गोष्ठी पोयुसाँप मनाएको हो ।

गोष्ठीमा कविबर तेजनाथ घिमिरेले वि.सं. २०१२ सालमा पहिलो पटक सरस्वती सदनमा कविता वाचन गरेको र २०२२ सालमा कवितामा स्वर्ण पदक पाएको स्मरण गर्दै निरन्तर साधनाले नै हाम्रा कविताहरु विश्व स्तरमा टक्कर दिने हनु सक्छन् भने ।
नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष बद्रीविनोद प्रतीकले ४० वर्षसम्म परिवारले निरन्तर आफ्नो गतिविधि गर्दै काव्यिक मञ्च प्रदान गर्नु आफैमा कविताको कोलाज भएको बताए । नयाँ पुस्ताले अन्तर्राष्ट्रिय स्तरको चेतनायुक्त रचना सिर्जनामा जोड दिनुपर्छ भने ।

अल्जेरियाली कवि ताहेर जाउद, जर्मनीका कवि ब्रेख्त आदिका कालजयी कवितासँगै कविवर तेजनाथ घिमिरे, डा. चैतन्य अधिकारी, मदन भण्डारी, डा. बलराम उपाध्याय रेग्मी, जीवनसागर भण्डारी, डा. बसन्त गौतम, ई. कौशलचन्द्र जि.सी., सर्वज्ञ श्रेष्ठ, मन क्षेत्री, अल्पज्ञानी, सूर्य खड्का विखर्ची, शरण आँसु, सरस्वती श्रेष्ठ सरु, षडङ्गराज घिमिरे, रामलाल बाटाजू, भरत कोइराला, जनक दुलाल, रामकुमार श्रेष्ठ, अम्बिका भण्डारी, क्रिष्टिना गुरुङ, गोविन्द पराजुली, अजय अनमोल, लक्ष्मण वास्तोला चिन्तन, विष्णुप्रसाद पराजुली, र लगायतका कविहरुले आफ्ना सिर्जनाहरु वाचन गरेका थिए ।

परिवारका सहसचिव सुरज उपाध्यायले स्वागत मन्तवसहित विशेष रचना अन्तर्गत बङ्गाली कवि नित्यानन्दको “आज देशमा” कवितालाई प्रस्तुत गरेका थिए । संस्थाका अध्यक्ष सुरेश रानाभाटको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सचिव अर्जुन अधिकारीले गरेका थिए ।

कमेन्टहरु
Loading...