आज पाेखरामा अरुणा लामा र तारादेवी स्मृति साँझ हुने

पोखरा । हार्मोनी पोखरा र एभरेस्ट एफएम सह आयोजनामा आज (शनिवार) पोखरामा अरुणा लामा–तारादेवी स्मृति साँझ २०८० कार्यक्रम हुने भएको छ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमले पोखरेली महिला कलाकारहरुको साझा संस्था हार्मोनीसँग मिलेर स्वर साम्राज्ञी अरुणा लामा र तारादेवीको स्मृति दिवसको सन्दर्भ पारेर उहाहरुप्रति समर्पित ‘अरुणा लामा–तारादेवी स्मृति साँझ’ कार्यक्रम गर्न लागेको हो ।

डिजिटल साउण्ड एण्ड भिजन न्यूरोड र रुपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्रपुलको सहकार्यमा हुने कार्यक्रम पोखरा–९ न्यूरोड संगम मार्गस्थित माछापुच्छे बैंक्यूट(सरांगकोट एफ एम) छेउमा हुने कार्यक्रम संयोजक दीपेन्द्र श्रेष्ठले जानकारी दिए । अपराह्न ५.३० बजेदेखि शुरु हुने कार्यक्रम साँझ ७.३० बजेसम्म चल्ने आयोजकले जनाएको छ । । स्वर साम्राज्ञी अरुणा लामा र तारादेवीको स्मृति दिवसको सन्दर्भ पारेर स्वर साम्राज्ञी अरुणा लामा र कालजयी स्वरकी धनी तारादेवीलाई हार्मोनीका कलाकारहरुले उनीहरुकै गीत गाएर ट्रिब्यूट दिनेछन् ।

साहित्यकार, गीतकार, निर्देशक तथा कलाकारिताका अन्वेषक कबि प्रकाश सायमीले नेपाली सुगम संगीत, स्वर्गिय कलाकारद्वय अरुणा लामा र तारादेवीको जीवनी र उनीहरुका ‘अनटोल्ड स्टोरी’ सहित स्मृति प्रबचनबाट कार्यक्रमको शुरुवात गर्नेछन् । त्यसपछि पोखरेली महिला कलाकारहरुले अरुणा लामा र तारादेवीका डेढ दर्जन गीत प्रस्तुत गर्ने श्रेष्ठले बताए ।

करीब दुई घण्टासम्म चल्ने कार्यक्रममा मितु पालले अरुणा लामाको ‘म त चुपचाप बँसे’ र तारादेवीको ‘आमा कुनै’ गीतबाट सांगीतिक प्रस्तुतीको शुरुवात गरेपछि ईतु जोजिजुले अरुणा लामाको ‘यहाँ फुल नफुलेछ, तारादेवीको ‘तिम्रो माया पत्थरको’, अरुणा लामाको ‘चौतारीमा बसेर रुन पाउँ र तारादेवीको मनको निश्चलतामा’ गीत गाएर अरुणा लामाप्रति ट्रिब्यूट दिनेछन् । त्यसपछि शितल थापाले अरुणा लामाको ‘लहरे बर घुमाउने चौतारी र तारादेवीको एक फुल झरेर के भो’, कौशल्या गुरुङले अरुणा लामाको ‘म आँखैमा राखिन योग्य र तारादेवीको फुलैफुलको मौषम तिमीलाई’ तथा अजुदा थापाले अरुणा लामाको ‘काल काल सल सल र तारादेवीको तिम्रो नाउँ झै छ ओठमा’ बोलको गीत स्वर्गिय स्वर साम्राज्ञी अरुणा लामा र कालजयी स्वरकी धनी तारादेवीप्रति समर्पित गरेर कार्यक्रमको बिट मार्नेछिन् ।

कमेन्टहरु
Loading...