‘प्रेम गीत–२’ कभरसङ विजेतलाई १ लाख पुरस्कार

पोखरा, २८ वैशाख/‘प्रेम गीत–२’ निर्माण युनिटले कभर गीत प्रतियोगीतालाई निरन्तरता दिएको छ । यसअघि आसुसेन फिल्मले निर्माण गरेको ‘प्रेम गीत’ को कभरसङ ‘म यस्तो गीत गाउँछु’ लाई पनि यूटुबमार्फत गायनको खोजी गरिएको थियो । त्यस सिजनबाट सागरसंसार राईले जितेका थिए । उनले ‘प्रेम गीत २’ को एउटा गीत गाउने अवसर पाएका छन् ।

प्रेम गीत २ फिल्मको टाईटल गीत ‘कहानी यो प्रेम गीतको’ कभरलाई गाउने कलाकारहरुको पुन खोजी गरिएको छ । फिल्म निर्माण टिम गायन कलाकारको खोजी गर्दै बिहीबार पोखरा आएको छ । पोखरा कलासंस्कृतिको धनी भएकोले यहाँबाट थुप्रै गायन प्रतिभाहरु सहभागी हुने फिल्मका निर्माता सन्तोष सेनले बताए । फिल्मको कभरसङ गाएर आफ्नै युटियुब च्यानलमा अपलोड गरी उक्त लिंक आफ्नो परिचयका साथ पठाउनुपर्ने नियम रहेको छ ।

प्रतियोगितले गाएको भिडियो बैशाख १८ गतेदेखी असार २० गते सम्म पठाइसक्नुपर्ने सेनले बताए । गीत गाउदा कुनै पनि म्युजिकल इन्स्टुमेण्ट , भिडियो डिभाईस वा हाइलाईट्स नेपालको युटियुब च्यानलमा उपलब्ध लिरिकल ट्रयाकमा गाएर पठाउन सक्ने प्रवधान गरिएको छ । भिडियोलाई हाईलाईट्स नेपालले असार २० गतेदेखी आफ्नो युटियुब च्यानलमा अपलोड गर्नेछ ।

भिडियोहरुलाई प्रतियोगीहरुले श्रावण २५ सम्म प्रचार गरी भ्युर्अस बढाउन सक्ने सेनले बताए । यूटुब भ्युर्असका आधारमा उत्कृष्ट १० जना र वाइल्ड कार्ड मार्फत उत्कृष्ट ५ गरी १५ जना फाइनलका लागी छनोट गरिने पब्लिसिटी म्यानेजर किरण आचार्यले बताए ।

‘प्रतियोगीहरुले निर्णायक सामु आफ्नो गायन प्रतिभाको प्रदर्शन गर्नुपर्नेछ,’ उनले भने, ‘निर्णायक मण्डलकै निर्णयको आधारमा एकजना पुरुष र एकजना महिलालाई विजेता घोषणा गरिनेछ । विजेता दुबै महिला पुरुष गरी जनही १÷ १ लाख सहित आसुसेन फिल्मसले निर्माण गर्ने आगामी चलचित्रमा गाउने अवसर प्राप्त हुनेछ ।’

कमेन्टहरु
Loading...