बाबुरामको कपडा कला प्रदर्शनी पोखरामा सुरु

पोखरा, २ असार/कलाकार बाबुराम बस्ताकोटी ‘कस्केली’ ले कपडाको कोलाजमा नयाँ प्रयोग गरेको कला आज देखि पोखरामा प्रदर्शन सुरु भएको छ । विश्वमै नयाँ प्रयोग बनाइएका कलाकृति हिलप्वाइन्ट उच्चमावि माटेपानीमा प्रदर्शनीमा राखिएको कलाकार कस्केलीले बताए ।

‘माइ क्रिएटिभ एप्रोच’ शीर्षकको प्रदर्शनीमा २१ बटा कलाकृति एक दिन प्रदर्शन गरिने छ । ती कृति तयार पार्न कलाकार कस्केलीलाई तीन वर्ष लागेको थियो । आफ्ना सिर्जनामा उनले नेपालका प्राकृतिक, सांस्कृतिक तथा सामाजिक जीवनलाई कलात्मक रूपमा चित्रण गरेका छन् । उनले भूकम्पबाट ध्वस्त भएको धरहरालाई कलात्मक रुपमा रंगीन कपडाका टुक्रा जोडेर बनाएका छन् ।

खेतमा काम गरिरहेका किसानलाई पनि कपडाका टुक्राबाट आकर्षक रुपमा प्रस्तुत गरिएको छ । रङ र ब्रसको प्रयोग बिना नै बनाइएको भए पनि उनका कला आकर्षक छन् । प्रचलनमा रहेको भन्दा फरक माध्यमबाट मौलिक संस्कृति उजागर गर्न सकिन्छ भन्ने मान्यता राखेर आफूले कला सिर्जना गरेको कलाकार कस्केलीले बताए ।

कमेन्टहरु
Loading...