पोखरामा चलचित्र पत्रकारिता कार्यशाला सुरु

पोखरा, ३ मंसिर/‘चलचित्र पत्रकारिता कार्यशाला’ पोखरामा शुक्रबारदेखि सुरु भएको छ । चलचित्र पत्रकार संघ कास्कीको आयोजनामासुरु कार्यशाला आइतबारसम्म चल्नेछ । कार्यशालाको उद्घाटन चलचित्र पत्रकार संघ केन्द्रीय अध्यक्ष शान्तिप्रियले गरे । प्रियले चलचित्र पत्रकारिता सुदृढ बनाउन लागिपरेको बताए ।

‘दुई कार्यकाल अध्यक्ष पदमा हुँदा चलचित्र पत्रकारितालाई व्यवस्थित बनाउन लागें,’ उनले भने । पछिल्लो समय अनलाइन पत्रकारिता विभिन्न गसिपले गर्दा बाधक बनेको उनले प्रस्टाए । ‘हावाको भरमा समाचार बनाएर जथाभावी सेयर गर्ने बढेको छ,’ उनले भने, ‘चलचित्र नबुझी, व्यक्तिगत दुश्मनीलाई मुख्य विषय बनाएर समाचार बनाउने हावी भएको पाइन्छ ।’चलचित्र, प्राविधिक ज्ञान नभएसम्म समीक्षा गर्न नसकिने उनले बताए । चलचित्र सम्बन्धी पत्रकारिता गर्ने पत्रकारहरुले क्षमता अभिवृद्धि गर्नयस्तै खाले तालिम, कार्यशालाको आवश्यक रहेको प्रियले बताए ।

‘चलचित्र पत्रकारलाई मर्यादित रुपमा विकास गर्नज्ञान लिई नयाँ बाटो कोरौं,’ उनले भने । नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष बद्रीविनोद प्रतीकले पत्रिकामा पुरा पेज मनोरन्जनका लागि भनेपनि कलम चलाउने पत्रकारको अभाव रहेको बताए । ‘चलचित्र पत्रकार धेरै मात्रामा उत्पादन गर्नुपर्छ,’ उनले भने, ‘पोखरामा दिनहुँ सुटिङ हुँदा कुनै पनि पत्रिकामा त्यसको समाचार भेटिँदैन ।’ प्रशिक्षक एवं पत्रकार प्रकाश सायमीले चलचित्र निर्माण गर्ने व्यक्ति हराए पनि पत्रकारिता गर्ने व्यक्ति झन् बढेको बताए । ‘एउटा फिल्म फ्ल्प भयो भने,अर्को बनाउन डराउँछन्,’ उनले भने, ‘तर चलचित्र पत्रकार दिनहुँ बढेको पाइन्छ, यस अर्थमा पत्रकारिता सुरक्षित देखिन्छ ।’

पत्रिकामा मनोरञ्जन सम्बन्धि समाचारलाई उचित स्थान दिनुपर्ने उनले बताए । ‘चलचित्र पेज थ्रीको होइन पेज फस्टको हो,’ उनले भने, ‘अहिले पनि राष्ट्रिय अखबार चलचित्र पत्रकारिताले नै धानेको छ ।’ चलचित्र पत्रकार संघ कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले पोखरामा थुप्रै पत्रकारले चलचित्र पत्रकारिता छोडेर अन्य बिट समातेकोसुनाए । उनले सुरुआतमा देखासिकीबाट नै पोखरामा चलचित्र पत्रकारिता सुरु गरेको बताए । चलचित्र पत्रकार संघ हेटौंडाका अध्यक्ष मणिराज गौतमले गसिपको माध्यमबाट चलचित्र पत्रकारिता बनेको बताए । ‘खोज अनुसन्धान नभएका कुरा समाचारमा आउने गर्छ,’ उनले भने,‘नीतिनियमका कुरा कार्यशालाबाट प्रस्ट हुनेछ ।’ उनले केन्द्रबाट शाखा संघलाई मोटिभेसन गर्नुपर्ने आग्रह गरे ।

जिफानका संस्थापक अध्यक्ष माओत्से गुरुङले कार्यशालाबाट चलचित्र पत्रकारिता दरिलो बन्ने विश्वस्त रहेको बताए । पोखरा फिल्मस् सोसाइटीका अध्यक्ष घनश्याम लामिछानेले कार्यशालाले चलचित्र सम्बन्धि लेख्न खोज्नेलाई सर्पोट गर्ने बताए । विग एफका अध्यक्ष महेश भण्डारीले चलचित्र हेर्दा ग्लामरसँग जोडिए पनि यसको संवेदना अत्यान्त महत्व रहेको बताए । उनले धेरै पढिने र झ्याप आँखा जाने विधा नै चलचित्र भएको प्रस्टाए ।  चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष रेम विकको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष राजाराम पौडेल र सञ्चालन सचिव सुशान घिमिरेले गरेका थिए ।

कमेन्टहरु
Loading...