पाङको पार्वती गुफामा अक्षरयात्रा

पोखरा, १७ वैशाख/पर्वतको पाङस्थिच पार्वती गुफामा अक्षरयात्रा अभियान पुगेको छ । ‘जीवन र जगतको यथार्थ वोधका लागि अक्षरयात्रा’ भन्ने उद्घोषका साथ कुस्मा नगरपालिका वडा नम्बर १ र २ स्थित पार्वती गुफामा अक्षरयात्रीले सिर्जना कोरेर सुनाएका हुन् ।

२०६२ सालदेखि गजल सन्ध्या पोखरा र नवनीत साहित्य सागरले महिनाको तेस्रो शनिबार अक्षरयात्रा साहित्यिक अभियान चलाउँदै आएको छ । कुस्मा नगरपालिका वडा नम्बर १ र २ का जनप्रतिनिधिले पार्वती गुफाको पर्यटनकीय सम्भावनालाई उजागर गर्न साहित्यलाई जोडेर अक्षरयात्रालाई चाँजो मिलाएका थिए ।

अमृत बसोस्, जहर नपसोस्
फाँटहरु निल्ने रहर नपसोस्
हाम्रा यी सुन्दर गाऊँहरुमा
विकास पसोस् सहर नपसोस्

पोखरादेखि अक्षरयात्रामा पाङ गाउँ र पार्वती गुफा पुगेपछि कवि वसन्त गौतमले यो मुक्तक सुनाए । गाउँको स्वाद लिएपछि सहरको विकृतिलाई ब्यंग्य गर्दै गौतमले यो मुक्तक सुनाए । स्थानीय तथा गाउँलाई विकास गर्न कस्सिएका जनप्रतिनिधि आफ्नै गाउँमाथि लेखिएका यस्तै सिर्जना सुनेर दंग परे ।

साहित्यिक पर्यटनको अवधारणालाई आत्मसात गर्दै देशका विभिन्न ठाउँमा पुग्दै आएको अक्षरयात्राको १ सय ५३ औं शृंखलामा पार्वती गुफा पुगेका यात्रीले झन्डै ४ दर्जन साहित्यिक रचना सुनाए । पार्वतीको जन्मभूमि र महादेव स्वामी पाउँ भनेर पार्वतीले तपस्या गरेका गुफाका रुपमा परिचित पाङको पर्वती गुफा पुगेर अक्षरयात्रीले त्यहाँको सम्भावनालाई रचनामा उतारेर सुनाए । पाङ गाउँको मौलिक स्वाद र त्यहाँको अवस्था सिर्जनामार्फत पस्किँदा गाउँलेले ताली बजाएर समर्थन जनाए । कविले पाङको आवाजलाई कवितामार्फत प्रस्तुत गरे ।

पाङलाई जोडेर साहित्य रचना सुन्न पाउँदा स्थानीयले खुसी माने । पर्वतकै स्रष्टा शंकर गिरीले अक्षरयात्रालाई पाङसम्म पु¥याउन समन्वय गरेका थिए । कवि दीपक समीप, प्रकट पंगेनी शिव, गनेस पौडेल, ईश्वरमणि अधिकारीले पाङको सम्भावना, पार्वती गुफाको आकर्षण र पाङबाट देखिने देशलाई कवितामार्फत प्रस्तुत गरे । कवि कल्याण पन्त, कपिल शर्मा, उदीपराज ढुंगाना, सौगात पोखरेल, मिर्मिसा पराजुली, भरत आचार्य, भरत पोखरेल, केआर ढकाल, अनिता दाहाल, माया कुँवर, मनिस गौतम, मोहन भण्डारी लगायत ४० भन्दा बढी साहित्यकारले मौलिक र स्थानीय स्वादको रचना सुनाए ।

अक्षरयात्रा अभियानले साहित्यका माध्यमबाट स्थानीय सम्भावना, समस्या र प्रचारप्रसारसँगै सिर्जनाको वृद्धि विकास गर्दै आएको गजल सन्ध्याका अध्यक्ष अमृत सुवेदीले बताए । अर्को आयोजक संस्था नवनीति साहित्य सागरका अध्यक्ष लक्ष्मण थापाले १२ वर्षदेखि अक्षरयात्रा जीवन र जगत बुझेर त्यसलाई सिर्जनामा उतार्ने महत्वपूर्ण पोखरेली अभियान बनेको जानकारी गराए ।

कुस्मा वडा नम्बर १ का अध्यक्ष देवेन्द्र सुवेदीले अक्षरयात्रीलाई स्वागत गर्दै पार्वतीको जन्म भएको र तपस्या गरेको गुफा पर्यटकको पखाइमा रहेको बताए । वडा नम्बर २ का अध्यक्ष यदुनाथ शर्मा बास्तोलाले धार्मिक पर्यटनको अथाह सम्भावना बोकेको गुफा प्रचारका अभावले छाँयामा परेको बताए । पार्वती गुफा व्यवस्थापन तथा पर्यटन विकास समितिका अध्यक्ष छविलाल पौडेलले हालसालै गुफामा शिवजीको मूर्ति फेला परेको बताए । गुफा हिन्दु सनातन धर्मालब्मीको प्रमुख गन्तव्य बन्न सक्ने बताए ।

कमेन्टहरु
Loading...