नाटक ‘जिउँदो आकाश’ मञ्चन शुरु

वर्ष २०७५ मा नियमित नाटक मञ्चन गरिने

पोखरा १ बैशाख / नयाँ वर्ष २०७५ को पहिलो दिन बैशाख १ गतेबाट पोखरामा नाटक ‘जिउँदो आकाश’ मञ्चन शुरु भएको छ । पोखराको ग्रैहापाटनमा सञ्चालनमा आएको पोखरा थिएटरले वर्ष २०७५ मा नियमित नाटक मञ्चन गर्ने योजना अनुरुप नाटक मञ्चन शुरु गरिएको हो । प्रिमियर सो पश्चात आफ्नो भनाइ राख्दै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपती सरुभक्त श्रेष्ठले नाटकका कलाकारले एकल अभिनय मार्फत दर्शकको मन जित्न सफल भएको भन्दै तारिफ गरे । गहन विषयलाई बुझाउदै दर्शकलाई स्तब्ध पार्न कलाकारले गरेको प्रयास उत्कृष्ट रहेको श्रेष्ठले बताए ।

प्रदेश सांसद दिपक कोइरालाले पोखरा थिएटरको स्थापनासँगै पोखरामा नाटक कल्चरको विकास हुन थालेको बताए । यो कल्चरलाई बचाई राख्न निरन्तरता दिनुपर्नेमा उनको जोड थियो । नाटकका लेखक चन्द्रप्रसाद पाण्डेले नाटक मार्फत सन्देश दिन खोजेको बताए । स्याङ्जा जन्मथलो भएको बताउदै उनले पोखरामा नाटक मञ्चन गर्न पाएकोमा खुशी व्यक्त गरे । नाटक हेर्न पुगेका दर्शकमाझ पोखरा थिएटरका अध्यक्ष परिवर्तन कार्कीले वर्ष २०७५ मा लगातार नाटक मञ्चन गर्ने योजना अनुसार नाटक मञ्चन गर्न लागेको बताउँदै थिएटरको प्रयासमा साथ दिन आग्रह गरे ।
पोखरा थिएटद्धारा सञ्चालित गन्र्धव नाटकघरमा मञ्चन भइरहेको यो नाटक साइलेन्ट एक्ट प्रालिको प्रस्तुतीमा निर्माण गरिएको हो । आरके मेहता रोसनको परिकल्पना र निर्देशनको यो नाटकलाई चन्द्रप्रसाद पाण्डेयले लेखेका हुन् । नाटकमा एकल कलाकारको रुपमा अनिल सुब्बाले अभिनय गरेका छन् । सुब्बाले विभिन्न पात्रको अभिनय गर्दै नाटकलाई जिवन्तता दिन गरेको मेहनत दर्शकको लागि रुचिकर बन्छ ।

तेस्रोलिंगीको विषय समेटिएको यो नाटक मार्फत तेस्रोलिंगीका समस्यालाई चित्रण गर्ने प्रयास गरिएको छ । परिवार, समाजले उनीहरु प्रति हेर्ने दृष्टिकोण कस्तो छ र त्यसले उनीहरुलाई कस्तो पिडा भइरहेको छ भन्ने बारेमा नाटक मार्फत उजागर गर्न खोजिएको छ । झण्डै एक घण्टा लामो नाटकमा अनिलले तेस्रोलिंगीको बालापन देखि युवाअवस्थाको भोग्नु परेको पिडा अभिनय मार्फत चित्रण गरेका छन् । नाटक जिउँदो आकाशको पहिलोपटक मञ्चन २०७३ जेठ २९ गते चरिकोटमा आयोजित नाटक महोत्सवमा भएको थियो । त्यसपछि सर्वनाम थिएटरमा दुई चरणमा मञ्चन भयो । साथै गत फागुन २८ गते भारतको गुहाटी र ३० गते दिल्लीमा नाटक मञ्चन गरिएको थियो । नाटकमा संगीत संयोजन किरण चाम्लिङ, संगीत परिचालन युनिक, मञ्च व्यवस्थापन सम्रान्त थापा, कोरियोग्राफि कमल राई, भेषभुषा सुनिता मोते, प्रकाश परिकल्पना मिलन नेपाली, पोष्टर चित्र काजी राना र सह निर्देशनको जिम्मा रेनुका कार्कीले निभाएकी छन् ।

नाटक बैशाख १५ गतेसम्म हरेक दिन साँझ ५ बजे मञ्चन हुनेछ । नाटक हेर्न सर्वसाधरणका लागि तीन सय र पाँच सय तथा विद्यार्थीका लागि एक सयको टिकट काट्नुपर्ने हुन्छ । शनिबार दिउँसो १ बजे अतिरिक्त सो हुनेछ ।
यो नाटकको मञ्चन पश्चात पोखरा थिएटरको प्रस्तुतीमा मञ्चन हुने नाटक बितेका कुरा मञ्चन गरिनेछ । रुपनारायण सिँहको लेखनमा परिवर्तन कार्कीले निर्देशन गर्ने यो नाटकको लागि रिर्हसल सुरु भइसकेको छ । यसैगरी पोखरा थिएटरमा खगेन्द्र लामिछानेको लेखन तथा निर्देशनमा नाटक अटलबहादुरको आतंक समेत मञ्चन हुने तयारी भएको पोखरा थिएटरका सञ्चालक दिलप्रसाद गुरुङले जनाए ।

कमेन्टहरु
Loading...