मगर आदिकवि रेखबहादुर साहित्य पुरस्कारबाट थापा सम्मानित

मिछुर्लुङ (तनहुँ), २९ भदौ/मगर भाषाका आदिकवि सु. रेखबहादुर सारू मगरको नाममा स्थापित ‘मगर आदिकवि सु. रेखबहादुर साहित्य पुरस्कार–२०७३’बाट मगर भाषाकी साहित्यकार फूलकुमारी थापामगर सम्मानित हुनुभएको छ ।

नेपाल मगर लेखक संघ गण्डकी अञ्चल समितिद्वारा मगर आदिकवि रेखबहादुरको ७३ औं जन्मजयन्तीका अवसरमा मंगलबार तनहुँको पर्यटकीय गाउँ मिछुर्लुङमा आयोजित विशेष समारोहमा साहित्यकार थापा सो पुरस्कारबाट सम्मानित हुनुभएको हो । रेखबहादुरका नाममा स्थापित सो पुरस्कार पहिलोपटक थापाले पाउन सफल हुनुभएको हो ।

यसअघि, अर्का मगर आदिकवि जीतबहादुर सिंजाली मगरका नाममा स्थापित ‘जीबसिम साहित्य पुरस्कार’बाट समेत सम्मानित भइसक्नुभएका साहित्यकार थापा पाँच हजार रुपैयाँ नगद, दोसल्ला र सम्मानपत्रद्वारा सम्मानित हुनुभयो । साहित्यकार थापालाई नेपाल मगर लेखक संघकी केन्द्रीय बाह्र मगरात भाषिक उपाध्यक्ष हेमा आलेमगर ‘बोगी’ले सम्मान गर्नुभएको हो ।

मगर आदिकवि रेखबहादुर साहित्य पुरस्कारबाट थापा सम्मानित
मगर आदिकवि रेखबहादुर साहित्य पुरस्कारबाट थापा सम्मानित

नेपाल मगर लेखक संघ गण्डकी अञ्चल समितिले रेखबहादुरका नाममा पुरस्कार प्रदानका लागि एक लाख रुपैयाँको ‘मगर आदिकवि सु. रेखबहादुर सारू मगर स्मृति अक्षयकोष’ स्थापना गर्ने घोषणा पनि गरिसकेको छ । पुरस्कृत थापाका हालसम्म मगर भाषामा ‘ईट न लेसा मास्टोकूङ कठा र व्यठा’, ‘कानूङ कूरा’ र ‘झोर्ले लाफाको’ तथा नेपाली भाषामा ‘विम्ब–प्रतिविम्ब’लगायतका कृति प्रकाशित छन् ।

थापा मगर भाषा प्रतिष्ठान नेपालकी केन्द्रीय सदस्य, नेपाल मगर लेखक संघ गण्डकी अञ्चल समितिकी सल्लाहकार, नेपाल मगर महिला संघ कास्कीकी अध्यक्ष एवं राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ जिल्ला समन्वय परिषद्, कास्कीकी उपाध्यक्ष समेत हुनुहुन्छ ।

पुरस्कृत व्यक्तित्व साहित्यकार फूलकुमारी थापामगरले मगर जातिको इतिहास लिखित रूपमा नहुँदा अहिलेको पुस्तालाई समस्या भएको बताउँदै मगर भाषामा कलम चलाउनु अहिलेको आवश्यकता भएको बताउनुभयो । पुरस्कारले आफूमाथि मगर साहित्यका लागि केही गर्न थप जिम्मेवारीबोध गरेको बताउँदै थापामगरले मगर भाषा, साहित्यको विकासका लागि सबै मगरहरू एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो ।

कमेन्टहरु
Loading...