गजल वाचनको १ सय ८१ औं शृंखलामा दुई दर्जन गजल

पोखरा, १२ साउन/गजल सन्ध्या पोखराले नियमित गजल वाचनको १ सय ८१ औं शृंखला गरेको छ । महिनाको पहिलो शनिबार गर्दै आएको गजल वाचनको साउने शृंखला हिमालयन रिडर्स कर्नरमा सकिएको हो ।

‘गजलको उत्थान हाम्रो अभियान’ भन्ने नारासहित हुँदै आएको गजल वाचनको साउने शृंखलामा झन्डै दुई दर्जन गजल सुनिए । गजलकारले समसामायिक, देशप्रेम, माटो र प्रणय भावका गजल सुनाए । राजनीतिप्रति कटाक्ष गरे, प्रेमप्रति समर्पण र सामाजिक विकृतिमाति कटाक्ष व्यक्त गरेका छन् ।

गजल सन्ध्याका अध्यक्ष अमृत सुवेदीको स्वागत गजलसँगै सुरु भएको गजल वाचन शृंखलामा पहिलो गजल वाचकको रुपमा राज एकान्तप्रेमीले गजल सुनाए । गजलकार आवाज शर्मा र त्रुपकले तरंगम गजल वाचन गर्दै माहोललाई अझ जमाए । पोखरेली गजलका अभियान्ता दीपक समीप, रुपिन्द्र प्रभावीलगायतले गजल वाचनमार्फत समसामयिक भाव तथा विकृतिमाथि व्यंग्य गरे ।

कपिल शर्मा, सञ्जीव पौडेल, मोहन भण्डारी, मनोज काफ्ले, श्रीराम अधिकारी गोर्जे, अनुराग अधिकारी, तिलक खत्री, श्रीराम अधिकारी गोर्जे, तारानाथ पराजुली लगायतले गजल वाचनको माहोल तताए । गजलकार अर्जुनदृष्टि पौडेलले फरक भावका ३ गजल सुनाए । कार्यक्रमको सहजीकरण सचिव वसन्त विनोदले गरेका थिए ।

गजल सन्ध्या पोखराले नियमित गजल वाचनसँगै अन्य विभिन्न गतिविधि गर्दै आएको छ । विशेष गजल वाचन, पुस्तक विमर्श, गजल प्रतिभा पुरस्कार तथा सम्मान र अन्य विभिन्न गतिविधि गर्दै आएको सन्ध्याले महिनाको तेस्रो शनिबार देशका विभिन्न ठाउँमा पुगेर अक्षरयात्रा साहित्यिक अभियान चलाउँदै आएको छ । ‘जीवन र जगतको यथार्थवोधका लागि अक्षरयात्रा’को मर्मलाई लिएर साहित्यिक पर्यटनको अवधारणालाई आत्मसात गर्दै हुँदै आएको अक्षरयात्रामा तद्स्थानीय रचना वाचन हुँदै आएको छ ।

कमेन्टहरु
Loading...