‘भाग्यले बाँचेकाहरु’ लाई बेलायतमा पनि उत्कृष्ट अवार्ड

काठमाडौँ, ५ बैशाख / अन्तर्राष्ट्रिय अवार्डहरु लगातार जित्ने क्रममा बहुचर्चित वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ले बेलायतमा पनि उत्कृष्ट अवार्ड जितेको छ । बेलायतको स्कटल्याण्डमा पहिलो ‘एडिनबरा नेपाली चलचित्र महोत्सव’मा भाग्यले बाँचेकाहरुले उत्कृष्ट डकुमेन्ट्री अवार्ड जितेको हो ।

नेपाल–बेलायत सम्बन्ध स्थापना भएको २ सय बर्ष पुगेको अवसरमा स्कटल्याण्डका नागरिकहरुद्वारा पहिलोपटक आयोजित चलचित्र महोत्सवमा नेपालका तर्फबाट अन्य वृत्तचित्र पनि प्रतिस्पर्धामा थिए । जसमा ‘भाग्यले बाँचेकाहरु’ले उत्कृष्ट वृत्तचित्रको ट्रफी उचाल्यो भने सबिन बास्तोला निर्देशित ‘सुनपानी’ले ‘उत्कृष्ट फिचर फिल्म’, कमल भट्ट निर्देशित ‘चोख्यानी’ले ‘उत्कृष्ट सर्ट मुभि अवार्ड’ जितेको चलचित्र महोत्सवकी निर्देशक सुसन फरोगीले बताइन् ।

एकपछि अर्को अन्तर्राष्ट्रिय अवार्ड जित्दा निकै खुसी मिलेको ‘भाग्यले बाँचेकाहरु’का निर्देशक गणेश पाण्डेले बताए । काठमाडौँमा सम्पन्न काठमाडौँ पर्वतारोहण अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किम्फ) मा ‘भाग्यले बाँचेकाहरु’ले नेपाल पानोरोमामा उत्कृष्ट डकुमेन्ट्री अवार्ड र पब्लिक च्वाइस अवार्ड गरी एकसाथ दुईवटा अवार्ड जितेको भाग्यले बाँचेकाहरुले भारतको राजधानी नयाँदिल्लीमा भएको तेस्रो नोइडा अन्तर्राष्ट्रिय फिल्म महोत्सव र मुम्बई नजिक नाशिक शहरमा भाएको नाशिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पनि उत्कृष्ट अवार्ड जितिसकेको छ ।

बितेको तीन महिनामा ३२ वटा भन्दा बढी अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘भाग्यले बाँचेकाहरु’ प्रतिस्पर्धाका लागि छनौट भइसकेको छ । नेपालको विनाशकारी भूकम्पमा पर्दा समेत मृत्युलाई जित्न सफल केही नेपालीहरुको प्रतिनिधिमुलक घटनालाई समेटेर तयार पारिएको ‘भाग्यले बाँचेकाहरु’को अन्तर्राष्ट्रिय संस्करण ४५ मिनेटको छ ।

कमेन्टहरु
Loading...