अमेरिकन आइडलमा नेपाली दिवेस पोखरेलको अर्को उत्साहजनक प्रस्तुती

एजेन्सी / अमेरिकी आइडलमा दमदार प्रस्तुती दिएर नेपाललाई चिनाएर चर्चामा आएका नेपाली गायक दिवेस पोखरेलले अर्को दमदार प्रस्तुती दिएका छन् । पहिलो जसरी नै उनको यस प्रस्तुतीले पनि जज र उपस्थित दर्शकहरुको मन जितेको छ ।

अमेरिकन आइडलले आफ्नो आधिकारिक युटुब च्यानलमा राखेको भिडियोमा दिवेश अडिसनमा छनोट भएपछि लस एन्जलसको हलिउड पुगेको देखाएको छ । जहाँ उनले अर्का एक प्रतिस्पर्धीलाई आफ्नो परिचय दिँदै आफू सगरमाथाको देश नेपालबाट आएको भनेका छन् । उनले लस हलिउडमा आफ्नो अनुभव सुनाउँदै सबै चमकदार र हिराजस्तै सुन्दर भएको बताए ।

यसपछि उनले आफू गायकसहित गीत लेखक दुवैमा पर्ने बताए र दोस्रो प्रस्तुतीका लागि स्टेजतर्फ लाग्छन् जहाँ उनलाई जज र दर्शकहरुले उत्साहपूर्वक स्वागत गरेका छन् । नमस्ते भनेर अभिवादन गरिसकेपछि उनले पहिले जसरी नै गितार बजाउँदै ‘हार्ड टु ह्यान्डल’ नामक गीत गाउन सुरु गर्छन् र फेरि पनि जजहरुलाई आश्चर्यमा पार्छन् ।

यसरी प्रस्तुती पूरा भइसकेपछि पनि सबैले ‘मोर मोर’ भनि उनलाई अझै गाइरहन भन्छन् । जसकारण उनले थप केहीबेर गाउँछन् । स्टेज बाहिर पुगिसकेपछि उनले आफू दर्शक र जजहरुको मन रिझाउन सफल भएको बताएका छन् ।

यता जजहरुले पनि दिबेसको प्रस्तुतीले विश्वचर्चित गायक बब मार्लीको याद दिलाएको भनि अन्तिमसम्म उनको प्रशंसा गरेका छन् । अमेरिकन आइडलको १८ औँ सिजनमा पुग्न सफल दिवेशले एक महिनाअघि दिएको प्रस्तुतीलाई जजसमेत रहेकी लोकप्रिय गायिका क्याटी पेरीले ‘तिमी उत्कृष्ट छौ’ भन्ने हौसला बढाइदिएकी थिइन् ।

कमेन्टहरु
Loading...