पोखरामा तरकारीमा विषादी नाप्ने मेसिन छिटै

पोखरा, १४ साउन/पोखरामा तरकारीमा विषादी छ कि छैन जाँच गर्न विषादी अवशेष विश्लेषण प्रयोगशाला स्थापनाको तयारी गरिएको छ । बाली संरक्षण निर्देशनालय काठमाडौंका वरिष्ठ बली संरक्षण अधिकृत रामकृष्ण सुवेदीले पोखराको कृषि उपज बजारमा दुई महिनाभित्र विषादी अवशेष विश्लेषण प्रयोगशाला स्थापना गरिने जानकारी दिए ।

प्रयोगशालामा किसानले तयार गरी बिक्रीका लागि बजारमा ल्याएका तरकारीमा विषादीको परिमाण कति छ भन्ने जाँच हुनेछ । तरकारीमा विषादीको मात्र बढी भएमा यस्ता तरकारी जफत गरी नष्ट गरिनुको साथै किसानमा सचेतनाको कार्यक्रम चलाइने वरिष्ठ बाली संरक्षण अधिकृत सुवेदीले बताए ।

कृषि मन्त्रालयअन्र्तगत व्यावसायिक तथा व्यापार आयोजना (प्याक)ले द्रुत विषादी विश्लेषण प्रयोगशाला सञ्चालन गर्न मेसिनको व्यवस्था गरिसकेको छ । सातै प्रदेशमा प्रयोगशाला स्थापना गर्ने लक्ष्यअनुसार बुटवल, नेपालगन्ज, झापा, सालाही, कैलालीमा पनि सँगै विषादी विश्लेषण प्रयोगशाला स्थापना गर्ने तयारी गरिएको उनले बताए । काठमाडौंमा हाल प्रयोगशाला सञ्चालनमा रहे पनि थप मोबाइल प्रयोगशाला पनि सञ्चालन गरिनेछ ।

प्रयोगशालाका लागि चाहिने प्राविधिक नियुक्ति कृषि मन्त्रालयले गर्नेछ । मन्त्रालय अन्तर्गतको प्याकले प्रयोगशाला स्थापना गरी प्राविधिकलाई तालिम दिई प्रयोगशाला सञ्चालनसम्मको अवधिका लागि जिम्मा पाएको छ । प्रयोगशाला सञ्चालनको जिम्मा कसले पाउने भन्ने अन्योल हुँदा जिल्ला कृषि विकास कार्यालय कास्की, क्षेत्रीय बाली संरक्षण प्रयोगशाला पोखरा, सेवा केन्द्र अन्योलमा परेका छन् । यो अन्योल कृषि मन्त्रालयले छिट्टै टुंग्याउने सुवेदीले बताए । एक वर्ष अघिनै प्रयोगशाला सञ्चालन गर्ने तयारी भए पनि ठेक्का बिग्रेकोले ढिला भएको बताइएको छ ।

पोखरामा विषादी प्रयोगशाला नहुँदा यहाँका तरकारीमा कति परिमाणमा विषादी छ र उपभोक्ताको स्वास्थमा कस्तो असर परिरहेको छ भन्नेमा सम्बन्धित निकाय बेखबर छन् । प्रयोगशाला स्थापनासँगै किसानमा विषादी प्रयोगको बारेमा सचेतना आउने र उपभोक्तले विषादीरहित तरकारी उपभोग गर्न पाउने विश्वास जिल्ला कृषि विकास कार्यालय कास्कीका प्रमुख रमेश कोइरालाले गरे ।

बालीनालीमा विषादी प्रयोग गरी सकेपछि ती बालीनाली कति दिनसम्म टिपेर बिक्रीवितरण र उपभोग गर्ने भन्ने विषयमा किसानले ध्यान नदिँदा त्यस्ता तरकारी र खाद्यन्नको प्रयोगले मानव स्वस्थ्यमा असर गरिहरको क्षेत्रीय बाली संरक्षण प्रयोगशाला पोखराका बाली संरक्षण अधिकृत शिवराज बरालले बताए । उनले विषादी भएका तरकारी र खाद्यन्न प्रयोगले क्यान्सर, श्वासप्रश्वासमा समस्या, स्नायुजन्य रोगलगायत जटिल रोग लाग्ने बताए ।

कमेन्टहरु
Loading...