पर्यटक बोलाउन उत्तर भारतमा चलिए पोखरा

पोखरा, १५ असार /विगत बर्षहरुमा झैं यसपटक पनि पश्चिमाचल होटल संघ पोखराले उत्तर भारतका विभिन्न शहरहरुमा गण्डकी प्रदेश सहित नेपाल प्रबद्र्धन गर्न चलीए पोखरा अभियानलाई निरन्तरता दिने भएको छ ।

असार १६ गतेदेखि २० गते सम्म संचालन हुने अभियानमा पोखरा र सिमा क्षेत्रका तारे होटलदेखि मध्यम बर्ग र साना होटल तथा रिसोर्टका संचालक र प्रतिनिधि सहभागी हुँदैछन् । यसैगरी नेपाल पर्यटन बोर्डकाका प्रतिनिधि र संचारकर्मीसहित कूल ३२ जना प्रबद्र्धन टोलिमा समाविष्ट छन् ।

अभियान अन्तर्गत पर्यटकीय शहर आगरा, उत्तर प्रदेशको राजधानी लखनउ र विहार राज्यको राजधानी पटनामा विविध कार्यक्रमहरु संचालन हुने छन् ।

बोर्डर टाउन सेल्स् मिसन अन्तर्गत संचालन हुने यो अभियान अन्तर्गत पत्रकार सम्मेलन, भारत र नेपालका पर्यटन व्यवसायी विच द्विपक्षीय व्यापारिक भेटघाट (बीटुबी), पर्यटन सम्बन्धी श्रब्यदृष्य प्रदर्शन तथा प्रचार सामग्रीको वितरण मुख्य रुपमा समेटिने पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए ।

संघले पहिलोपटक सन् २०१२ मा चलिए पोखरा अभिायन सुरुवात गरेको थियो । यो पटक संचालन हुन लागेको अभियान आठौं संस्करण हो ।

सन् २०१८ मा ११ लाख ७३ हजार भन्दा बढी विदेशी पर्यटक हवाई मार्ग मार्फत् नेपाल प्रवेश गरे । ती मध्ये भारतीयको संख्या दुई लाख भन्दा बढी रहेको नेपाल पर्यटन बोर्डको तथ्यांकले देखाउँछ । यसकारण पनि भारत हाम्रा लागि ठूलो पर्यटन बजार हो ।

अर्को तर्फ उत्तर भारतका उल्लेखित शहरहरु नेपालको सीमानामा पर्ने र यहाँ भ्रमणका लागि आउन समेत नजिक र सहज हुने कारण तिनै क्षेत्रमा प्रबद्र्धनको अभियान संचालन गर्न लागिएको हो । पोखरा घुम्न चाहने भारतीय पर्यटकलाई लक्षित गरी बर्षा याम अर्थात् रेनि सिजनको प्याकेजको समेत सार्वजनीक गर्ने अध्यक्ष तुलाचनले बताए ।

उत्तर भारतमा अहिले ४२ डिग्री हाराहारीको तापक्रम विद्यमान रहँदा त्यहाँका बासिन्दाका लागि पोखरा र वरपरका स्थलहरु गर्मी छल्ने उपयुक्त गन्तव्य हुन सक्ने विषय समेत हामीले अभियानका क्रममा भारतीयहरुलाई अवगत गराउने छौं ।

गत बर्ष यस्तै गर्मीको समयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुस्ताङ जिल्लामा अवस्थित पवित्र धाम मुक्तिनाथको दर्शन गरेपछि र चलिए पोखरा अभियानका कारण समेत भारतीय पर्यटक नेपाल आउने क्रम बढेको जानकारी गराउन चाहन्छौं ।

संस्कृति, पहुँच र व्यापारिक हिसावले समेत नेपाल र भारतविच धेरै पक्षहरु अन्तरसम्बन्धित भएका कारण नेपालका लागि भारत प्रमुख र दीगो पर्यटन बजार हुन सक्ने हामीले बुझेका छौं ।

काठमाडौं, चितवन, लुम्बिनी र मुक्तिनाथ जस्ता क्षेत्रको विच भागमा पोखरा रहेको र पछिल्ला महिनाहरुमा पोखरा पुग्न रोड कनेक्टिभिटीमा समेत सुधार आउनुले भारतीय पर्यटकका लागि पोखरा उपयुक्त गन्तव्य हुने हामीले ठानेका छौं ।

अतः भारतीय पर्यटकहरुलाई पोखरा घुम्नका लागि उपयुक्त छ भन्ने सन्देश दिने भ्रमणको मुख्य उद्देश्य हो । पोखरा सबै मौसमका लागि घुम्न उपयुक्त छ नै, गर्मीको समयमा शितल, स्वच्छ वातावरण सहित हिमाली एवम् पहाडी दृष्यावलोकनका लागि आउनै पर्ने ठाउँ भएको विषयलाई नेपाल पर्यटन बोर्डसँग मिलेर प्रचार प्रसार गरिनेछ ।

कमेन्टहरु
Loading...