सङ्घर्षमा कलममा असल संस्कारको परिचर्चा

पोखरा, ७ माघ​ /सङ्घर्षमा कलम साहित्य समाजको आयोजना र संस्कार समाज नेपालको समन्वयमा साहित्यकार तथा समाजसेवी पशुपति गुरुङको निबन्ध कृति असल संस्कार समृद्धिको आधारको आइतवार पोखरामा परिचर्चा गरिएको छ ।कार्यक्रमका प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभासद् सूर्य खड्का बिखर्चीले स्तरीय लेखनको आधार अभ्यास भएकाले अभ्यासको निरन्तरता आवश्यक रहेको धारणा राखे । अतिथि बिखर्चीले आफु जहाँ बसिन्छ त्यहाँ असल संस्कार बसाल्न आवश्यक रहेकाले गुरुङको असल संस्कार समृद्धिको आधार पुस्तक एउटा सिद्धान्तका रूपमा सबैले शिरोपर गर्नुपर्नेमा जोड दिए ।कृतिको परिचर्चा गर्दै डा. जगन्नाथ रेग्मीले पशुपति गुरुङको कृति भित्रका १७ थान निबन्धमा असल संस्कारलाई पैतालामा दबाउने होइन, शिरोपर गरी आफैँबाट कार्यान्वयन गरी अगाडि बढ्न आवश्यक रहेको बताए ।

स्रष्टा पशुपति गुरुङले हामी आफु सभ्य भए समाज सभ्य हुने र त्यही सभ्यतामा समृद्धि लुकेको बताइन् । गुरुङले नेपाल धेरै सम्भावनाले भरिएको देश भए तापनि सम्भावनालाई साकार पार्ने इच्छा शक्ति नहुँदा समृद्धि ओझेलमा परेकोमा चिन्ता व्यक्त गरिन् ।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकी समितिका अध्यक्ष दुर्गाबहादुर शाह बाबाले असल संस्कार नै सभ्यताको जननी भएकाले हामीले सके दिने अमूल्य उपहार नै असल संस्कार भएको भन्दै गुरुङले जुन सपना देखेकी छन् त्यो साकार पार्न हरेक नेपालीको साथ र सहयोग चाहिने बताए ।समाजसेवी तोयबहादुर भट्टराईले साहित्य र समाजसेवा एक अर्काका परिपुरक भएकाले यी क्षेत्रमा लाग्ने व्यक्ति असल समाज निर्माणका प्रणेता भएको धारणा राखे ।

गजल सन्ध्या पोखराका अध्यक्ष अमृत सुवेदीले लेखकको कृति प्रकाशन भएपछि सार्वजनिक सम्पत्ति हुने भएकाले हरेक स्रष्टाले के का लागि लेख्ने र समाजका लागि के दिने भन्ने कुरामा सचेत हुनुपर्नेमा जोड दिए ।कृतिका सम्पादक प्रकाश समीरले स्रष्टा गुरुङलाई विदेशमा बस्दा सिकेको संस्कारलाई स्वदेशमा कार्यान्वयनका लागि निरन्तर साधनारत व्यक्तित्वका रूपमा चिनाए । साथै, उनले ¬¬कास्कीको घान्दु्रकमा जन्मेकी गुरुङ संस्कार समाज नेपालकी अध्यक्षसमेत रहेकाले उक्त पुस्तकलाई संस्थाको घोषणापत्रका रूपमा बजारमा ल्याएको जानकारी गराए ।

यसैबीच, नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभासद्मा नियुक्त भएकोमा बधाईसहित साहित्यकार सूर्य खड्का बिखर्ची र असल संस्कार समृद्धिको आधार कृतिका लेखक पशुपति गुरुङलाई संस्थाले सम्मानसमेत गरेको छ ।स्रष्टाद्वयलाई साहित्यकार दुर्गाबहादुर शाह बाबा, समाजसेवी तोयबहादुर भट्टराई र सभाध्यक्ष कृष्ण रानाभाट सारथिले संयुक्त रूपमा सम्मान अर्पण गरे ।अध्यक्षको आसनबाट बोेल्दै कृष्ण रानाभाट सारथिले राम्रो कामलाई होइन, खराब कुरालाई बढी समय दिने हाम्रो परम्परालाई तोड्नका लागि गुरुङको पुस्तक एउटा बुटीका रूपमा सबैले लिन सके उत्तम हुने धारणा राखे ।साहित्यकार असफल गौतमले गुरुङले परदेशमा सिकेका असल सिकाइ व्यावहारिक जीवनमा लागु गर्न घरदेश आएर जुन कार्य गरेकी छन् त्यसको सबैले अनुशरण गर्नुपर्नेमा जोड दिए ।

कमेन्टहरु
Loading...