मिक्लाजुङको आरुबोटेमा ९ जनाको सामूहिक हत्या

काठमाडौं, ८ जेठ/सोमबार राती पाँचथरको मिक्लाजुङ्ग ३ का बमबहादुर र उनका माइला ज्वाइँ धनबहादुरको परिवारका ९ जनाको हत्या गरेका छन् ।

दुई परिवारको घर १५ मिनेटको पैदल दुरीमा छ । घटनापछि बमबहादुरका कान्छा ज्वाइँ मानबहादुर माखिम पनि आफ्नो गाउँभन्दा लगभग डेढ किलोमिटरको दुरीमा रहेको मलेदोको रूखमा झुण्डिएको अवस्थामा फेला परेका थिए। माखिमको घर मिक्लाजुङकै ७ नम्बर वडामा पर्छ ।

उनी झुण्डिएको ठाउँभन्दा २ सय मिटर जति वर रहेको भिर जस्तो ठाउँमा रगत लतपतिएको खुकुरी, दाप, लुगा र झोला भेटिएको प्रदेश १ का डिआइजी केदार रिजालले बताए ।

ससुरा र साढुभाइको परिवार मारेपछि मानबहादुर आफै झुण्डिएको प्रहरीले अनुमान गरेको छ । यो हत्यालाई हप्ता दिन अघिको नुनमा सिसा मिसाइएको घटनासँग जोडेर हेरिएको छ । हत्या गरिएका मध्ये मुना शेर्मा, मनकुमारी फियाकले हप्तादिन अघि नै खाएको खानामा सिसायुक्त नुन मिसिएको पाइएको थियो । उनीहरू बिरामी परेपछि सिसायुक्त खाना खाएको फेला परेको थियो ।

नुनमा सिसा कसले राख्यो भन्ने विषयमा प्रहरी टुंगोमा नपुग्दै दुइजानाका परिवारै मारिएका छन् । आरुबोटेमै सञ्चालित ढाका बुनाइ तालिममा सहभागी भएका उनीहरूले खाजामा राखिएको नुनमा मिसाइएको सिसा खाएको प्रहरी अनुमान थियो । उक्त घटनाको अनुसन्धान गरिरहेको प्रहरीले माखिमले नै नुनमा सिसा मिसाएको शंका गरे पनि पक्राउ भने गरिसकेको थिएन।

‘बमबहादुर फियाकका अर्का ज्वाइँ मानबहादुर माखिमले बमबहादुर र उनको घर नजिकै रहेको ज्वाइँ धनराज शेर्मा परिवारको हत्या गरेको अनुसन्धानबाट खुल्न आएको छ,’ ती उच्च प्रहरी अधिकारीले सेतोपाटीसँग भने, ‘अन्य कुरा पछि खुल्दै जाला।’

वडाध्यक्ष हस्तराज फियाकको भनाइले पनि प्रहरीको आशंकालाई पुष्टी गर्छ । ज्वाइँ मानबहादुर ससुरा बमबहादुरको मनमुटाव भएको वडाअध्यक्ष फियाकले बताए । उनका अनुसार, कान्छि छोरी र ज्वाँइको बारम्बार झगडा भएपछी बमबहादुरले मिलाउने कोसिस गरेका थिए ।

उनका अर्का ज्वाइँ धनराज शेर्माले पनि झगडा मिलाउन कोसिस गर्दै आएका थिए। तर, झगडा साम्य नभएपछि दुवैजना केही समय पहिलेदेखि अलग्गै बसिरहेका थिए। उनीहरूको घर मिक्लाजुङ्ग-७ मा पर्छ।

घटनामा शेर्मा र फियाकको घरका नौ जनाको हत्या भएको हो। हत्या गरिएका ज्वाइँ(ससुराको घर पन्ध्र मिनेट पैदल दूरी फरकमा छ। शेर्माको घर फियाकको भन्दा दक्षिण पर्छ।

हतियारधारी व्यक्तिले सोमबार मध्यरात पालैपालो दुवै परिवारलाई आक्रमण गरेको थियो। वडाध्यक्ष हस्तराज फियाकका अनुसार दुवै परिवार साधारण किसान हुन्।

‘यो परिवारसँग बाहिरका मान्छे कसैको दुश्मनी थिएन भन्ने बुझेका छौं,’ फियाकले सेतोपाटीसँग भने, ‘परिवारै सक्ने किसिमले हत्या भएको छ, यो परिवारसँग निर्मम हुनुपर्ने ठूलो कारण केही छैन।’

हत्या गरिएकाहरूमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, उनकी श्रीमती पुर्सीमाया फियाक र १२ वर्षीया आशिका खजुम लिम्बू छन्।

सात दिनसम्म प्रहरीले नुनमा सिसा मिसाउने व्यक्ति पहिचान गर्न नसक्दा अर्को घटना घटेको अनुमान गर्न सकिने वडाध्यक्ष फियाक बताउँछन्। ‘शंका लागेका व्यक्तिलाई प्रहरीले किन यतिका दिन समाएन, यो हत्यामा उनै व्यक्तिको संलग्नता शंका भइरहेको छ,’ उनले भने, ‘प्रहरीको लापरबाहीले यत्रो घटना हुन पुगेको किन नभन्ने?’

एक गैरसरकारी संस्थाद्वारा सञ्चालित तीनमहिने ढाका तालिममा सहभागी भएका उनीहरूलाई गतआइतबार बिहान खुवाइएको खाजामा सिसा मिसाएको थाहा लागेपछि बुधबार अस्पताल भर्ना गरिएको थियो।

नुन कम लागेको भन्दै थप गरेको नुनमा सिसाका कणहरू भएको हुन सक्ने प्रहरी अनुमान थियो। भान्छामा राखिएको नुनको भाँडामा नै सिसा मिसाइएको भेटिएको थियो।

तालिमकी प्रशिक्षक समेत रहेकी स्थानीय होटल व्यवसाय गर्ने जसमिन फियाक लिम्बूको पसलमा त्यस्तो फेला परेपछि स्थानीयहरूले प्रहरीलाई खबर गरेका थिए।

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत मिलन केन्द्र नेपालको आयोजनामा जिल्ला घरेलु तथा साना उद्योग विकास समिति पाँचथरको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको थियो। तालिमका ६ जना सहभागीसहित जसमिनकी छोरी र अन्य एक गरी ८ जनालाई अस्पताल भर्ना गरिएको थियो। स्रोत सेतोपाटी डटकम

कमेन्टहरु
Loading...