विहे भएको ११ दिनमै दुर्घटना–श्रीमतिको मृत्यु, श्रीमान घाइते

पोखरा, ७ कार्तिक / मंगलबार स्याङ्जा गल्याङ नगरपालिकाको मालुङ्गा नजिकै स्कुटर दुर्घटना भएको छ । लु ३७ प ३०९० नम्बरको स्कुटीलाई विपरित दिशाबाट आइरहेको लु १च ७२५६ नम्बरको जीपले ठक्कर दिदाँ दुर्घटना भएको हो ।

दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । मृत्यु हुनेमा गुल्मीको मालिका गाउँपालिका १ नेटाका २१ वर्षीया रूपा थापामगर रहेको गल्याङ प्रहरी चौकीका प्रमुख तथा प्रहरी निरीक्षक जनक रेग्मीले जानकारी दिए ।

२१ वर्षीया रूपा थापामगरको ११ दिन अघि विवाह भएको थियो । उनी श्रीमान सहित माइतीघरबाट घर फर्किदै गर्दा दुर्घटनामा परेका हुन् । स्याङ्जाको कालिगण्डकी गाउँपालिका ४ विर्घाबाट दुल्हन फर्काएर गुल्मी घर फर्कने क्रममा स्याङ्जाको मालुङ्गा नजिकै उनीहरू सवार स्कुटी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

गल्याङ प्रहरी चौकीका प्रमुख तथा प्रहरी निरीक्षक जनक रेग्मीले थापाको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारको क्रममा मृत्यु भएको वताए । दुर्घटनामा मृतक थापाका श्रीमान २७ वर्षीय महेश पुन घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको र अहिले लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको प्रहरी निरीक्षक रेग्मीले जानकारी दिए ।

रुपा मगर विद्यार्थी संघ पाल्पाकी पूर्व अध्यक्ष पनि हुन् । उनको शव जिल्ला अस्पताल पाल्पामा पोष्टमार्टम गरी आफन्तलाई बुझाउने तयारी भइरहेको छ ।

कमेन्टहरु
Loading...