कास्की र लमजुङ जोड्ने पुल भाँचिएर बस खोलामा, दुईको मृत्यु

लमजुङ, १२ साउन /कास्की र लमजुङ जोड्ने लमजुङको मध्यनेपाल नगरपालिका ८ को मोटरेवल पुल भाँचिएर बस खोलामा खसेपछि २ जनाको मृत्यु भएको छ । एक जना खोलाले बगाएर बेपत्ता भएका छन् ।

पोखराबाट कास्कीको बिलुवावेशी जाँदै गरेको ना ५ ख ६३९५ नम्बरको बस लमजुङको सीमाक्षेत्र रुदी खोला तर्ने क्रममा पुल भाँचिएपछि बस खोलामा खसेको थियो ।

खोलामा खसेको बसले च्यापिदा २ जना यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा लमजुङ कोहोला सोथर गाउँपालिका चरागाउँका ५० वर्षीय खेमबहादुर गुरुङ र पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३० का ५५ वर्षीय गाइने विक छन् । उनीहरुको शव बसले च्यापिएको ठाउँबाट निकालिएको कास्कीका प्रवक्ता प्रहरी नायव उपरिक्षक खड्कबहादुर खत्रीले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका २७ मध्ये गम्भीर घाइते भएका ९ जनालाई पोखरा ल्याइएको छ । पोखरा ल्याइएका मध्ये कास्कीको मादी गाउँपालिका वडा नम्बर ९ की सुशीला गुरुङको अवस्था गम्भीर रहेको कास्की प्रहरीले जनाएको छ । उनको मनिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । अन्य १८ जनाको भने स्थानिय अस्पतालमा उपचार गरिएको छ । बेपत्ता एक जनाको भने पहिचान खुल्न सकेको छैन ।

पोखरा ल्याइएका अन्य ८ जना घाइतेहरुमा पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३१ की स्मृति गुरुङ, लमजुङ चरागाउँकी टीका क्षेत्री, लमजुङ मध्यनेपाल नगरपालिकाका मंगलबहादुर विक, पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३० का कृष्ण रिजाल, लमजुङ पसगाउँका पूर्णबहादुर गुरुङ, लमजुङ भोजे १ का लक्ष्मण गुरुङ, पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ५ प्रस्याङका डिल्लीराम लामिछाने र उनकी ७ वषिर्या छोरी मनिका लामिछाने रहेका छन् । उनीहरु सबैको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ । रुदीखोला जलबिद्युत परियोजनाले निर्माण गरेको मोटरेवल पुल भाँचिएको हो ।

कमेन्टहरु
Loading...