पोखरामा महानगरको एकिकृत सम्पत्ति करमा भएको बृद्धिप्रति पोउवा संघ असन्तुष्ट

पोखरा,१ भदौ /  पोखरा उद्योग वाणिज्य संघले एकिकृत सम्पत्ति करमा गरिएको भारी बृद्धिप्रति असन्तुष्टी जाहेर गरेको छ ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेको नेतृत्वमा रहेको एक प्रतिनिधिमण्डलले शुक्रबार पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई ज्ञापन –पत्र बुझाउँदै जिल्ला मालपोत कार्यालयको हवाला दिँदै एकिकृत सम्पत्ति करको महलमा भारी कर बृद्धि गरेकोमा असन्तुष्टी जाहेर गरेको हो ।
यसअघि नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष संजिवबहादुर कोइराला र संघका अध्यक्ष विश्वशंकर पालिखेले करमा भएको बृद्धिले सर्वसाधारणलाई मर्का परेको बारे मौखिक जानकारी गराएको स्मरण गराउँदै त्यसको सुनुवाई नभएकोमा दुःख प्रकट गरेको छ ।
पोखरा उद्योग वाणिज्य संघले एकिकृत सम्पत्ति कर लगायतका कर र शुल्क वैज्ञानिक आधारमा निर्धारणको लागि स्थानीय स्वायत्त शासन नियमावली अनुरुप सम्बन्धित क्षेत्रका विज्ञसहितको मूल्याङ्कन समिति गठन गरी करको दर निर्धारण गर्न पनि महानगरलाई सुझाएको छ ।
यसैगरी संघले तत्कालीन पोखरा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७२/०७३ मा एकिकृत सम्पत्ति कर लागु गर्ने सन्दर्भमा पोखरा उद्योग वाणिज्य संघको अगुवाईमा, उपमहानगरपालिका, निजी क्षेत्र, सरोकारवाला निकायबीच भएको बैठकले ‘५ वर्षसम्म मालपोत कार्यालयले नगर क्षेत्रभित्रको घर जग्गाको मूल्याङ्कन दरमा बृद्धि गरे पनि एकिकृत सम्पत्ति करको दरमा बृद्धि नगर्ने तर प्रत्येक ५/५ वर्षमा करको दरमा पुनरावलोकन गरी बृद्धि गर्नुपर्ने अवस्था देखिएमा बृद्धि गर्ने ’ सहमति भएको समेत स्मरण गराएको छ ।
ज्ञापनपत्र बुझ्दै पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले करको दर बढेकोबारे आफू जानकार रहेको र नगरको शुक्रबार नै बस्ने कार्यपालिकाको बैठकले यो बारे निर्णय गरिने जानकारी दिनुभयो । उहाँले मालपोतको मूल्याङ्कन पनि वैज्ञानिक नभएको स्वीकार्दै त्यसमा पनि मापडण्ड बनाइने बताउनुभयो ।
नगर प्रमूख जिसीको प्रतिवद्धताप्रति धन्यवाद ज्ञापन गर्दै मालपोतले तोकेको कर जग्गा बिक्रीको लागि मात्र भएको तर वार्षिक रुपले कर तिर्ने जनतालाई परेको मर्काबारे संवेदनशील बन्न आग्रह गर्नुभयो ।
प्रतिनिधिमण्डलमा पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रवीन्द्रबहादुर प्रजु, उद्योग उपाध्यक्ष गोकर्ण कार्की, वाणिज्य उपाध्यक्ष विन्दु् कोइराला, सुवेदी,महासचिव दामु अधिकारी, उपमहासचिव अर्जुन पोखरेल तथा कार्यसमिति सदस्य नारायण पौडेलको सहभागिता रहेको थियो ।
कमेन्टहरु
Loading...