पोखरा बसका पुराना सबै बस बिस्थापन गर्ने, मोबाइल एप्लिकेसन र जिपिएस प्रणाली थप गर्ने

लामाचौर, बाटुलेचौरबाट छोरेपाटनसम्म सिधा बस
सुरेन्द्र पौडेल

पोखरा बस व्यवसायी समितिले १४÷१५ वर्ष पुराना सबै बस बिस्थापन गर्ने भएको छ । समितिले आगामी असारसम्ममा सबै पुराना बस विस्थापन गरी युरोथ्रि मापदण्डका सुविधा सम्पन्न बसहरु सञ्चालनमा ल्याउने भएको छ । समितिमा रहेका ३४ वटा पुराना बस बिस्थापन गरी नयाँ सञ्चालन गर्न लागिएको समितिका सचिव अमृत शर्माले जानकारी दिए ।

पहिलो चरणमा १६ वटा र दोस्रो चरणमा १८ वटा गरी ३४ वटा बस विस्थापन हुने शर्माले बताए । ‘आगामी साताबाट विस्थापनको काम सुरु हुन्छ,’ उनले भने, ‘सबै बस असारसम्ममा बिस्थापन गरेर सकिन्छ ।’ समितिले २०५८ सालदेखि पुराना सवारी विस्थापन अभियान सञ्चालन गरेको हो । १५ वर्ष भन्दा पुराना सवारी सञ्चालन नगर्ने नीति अनुसार समितिले पुराना गाडी बिस्थापन गरेको शर्माले बताए ।

असारसम्ममा ३४ वटा गाडी विस्थापन गरिसकेपछि समितिमा सन् २००८ मोडलपछिका सवारीमात्र सञ्चालनमा रहने शर्माले बताए । ‘असारपछि समितिमा नयाँ सवारीमात्र सञ्चालनमा रहन्छन्’ उनले भने । पुराना सवारी विस्थापन गर्ने नीति अनुरुप नै समितिले दुई वर्ष अगाडिबाट हालसम्म ४९ वटा युरोथ्रि मापदण्डकै बस सञ्चालनमा ल्याइसकेको छ । मास ट्रान्सपोर्ट’को अवधारणा अनुसार पोखरा बस व्यवसायी समितिले कम सिट क्षमताका बसहरुलाई बिस्तारै बिस्थापित गर्दै वातावरणमैत्री नयाँ बसहरु सञ्चालन गर्ने लक्ष्य राखेको छ ।

पोखरामा सञ्चालित साना मिनिमाइक्रो तथा कम सिट क्षमताका माइक्रो बसबाट सेवा सञ्चालन हुँदा ट्राफिक जाम, वातावरण प्रदुषण, बढ्दो सवारी संख्याले दुर्घटनामा बृद्धिसँगै जनजीवन नै अस्तव्यस्त हुने ‘गण्डकी अञ्चल यातायात व्यवस्थापन अध्ययन सुधार सुझाव समिति’ले सुझाव दिएको थियो । पछिल्लो समय सञ्चालनमा आएका र अहिले सञ्चालनको तयारीमा रहेका बसहरुले पोखराको सुन्दरता बचाउन सहयोग पु¥याउने समितिको विश्वास छ ।

सबै बसमा जिपिएस प्रणाली
समितिमा अहिले २ सय ५१ वटा बस छन् । समितिमा आवद्ध सबै बसमा जिपिएस ९ग्लोबल पोजिसन सिस्टम० प्रविधि जडान गर्ने तयारी भएको सचिव शर्माले जानकारी दिए । समितिको गत साधारणसभाले सम्पूर्ण गाडीमा जिपिएस प्रविधि जडान गर्ने नीति पारित गरेको थियो । सोही नीति अनुरुप जिपिएस प्रविधि जडान गर्नका लागि रकम संकलन भइसकेको उनले बताए । जिपिएस प्रविधि जडानका लागि व्यवसायीबाट प्रत्येक बस सञ्चालन हुँदाको दिन एक सय रुपैयाँका दरले संकलन गरिएको थियो ।

‘सबै बसमा जिपिएस जडानका लागि आवश्यक पर्ने रकम संकलन भइसकेको छ,’ उनले भने, ‘यही आर्थिक वर्षभित्र जिपिएस जडान सक्छौं ।’ यस अगाडि सञ्चालनमा आएका युरो थ्रि मापदण्डका ४९ वटा बसमा भने जिपिएस प्रविधि जडान भइसकेको छ । जिपिएस जडान गरिसकेपछि कुनकुन रुटमा कसरी बस सञ्चालन भइरहेको सबै विवरण अनलाइनबाटै हेर्न सकिन्छ । कुन बस कहाँ पुगेको छ र कुन गतिमा गुडिरहेको छ यो प्रविधिबाट जानकारी हुन्छ । बसको गति नियन्त्रणका लागि पनि जिपिएस प्रविधि प्रभावकारी बनेको शर्र्माले जानकारी दिए ।

जिपिएस स्याटेलाइट प्रविधिमा आधारित छ । अमेरिकाको डिपार्टमेन्ट अफ डिफेन्सले २४ वटा स्याटेलाइटमार्फत यसलाई प्रयोगमा ल्याएको हो । सुरुमा मिलिटरी प्रयोजनमा मात्र सीमित यो प्रविधि सन् १९८० देखि सर्वसाधारणले पनि प्रयोग गर्ने अनुमति पाएका हुन् । संसारको जुनसुकै कुनामा चौबीसै घण्टा यो प्रविधिको प्रयोग गर्न सकिन्छ । पछिल्लो समय सुविधा युक्त सवारीमा यो प्रविधिको प्रयोग बढ्दै गइरहेको छ ।

मोबाइल एप्लिकेसन बनाउने तयारी
पोखरा बस व्यवसायी समितिले मोबाइल एप्लिकेसन बनाउने तयारी गरेको छ । मोबाइल एप्लिकेसन बनिसकेपछि एप्लिकेसनका माध्यमबाट यात्रुले कुन रुटमा कुनकुन समयमा बस आउँछ र बस कहाँनेर आइपुगेको छ सबै विवरण प्राप्त गर्न सक्नेछन् । व्यवसायलाई आधुनिकीकरण र प्रविधिमैत्री बनाउने क्रममा मोबाइल एप्सलाई पनि प्राथमिकतामा राखिएको शर्माले जानकारी दिए ।

असारसम्म वेवसाइट
समितिले आफ्नै अफिसियल वेवसाइडट बनाउने भएको छ । समितिसँग सम्बन्धित सम्पूर्ण विवरण वेवसाइट मार्फत सार्वजनिक गरिने शर्माले जानकारी दिए । कुनकुन रुटमा सवारी सञ्चालन भइरहेका छन् सबै विवरण वेवसाइटबाट हेर्न सकिनेछ । ‘सबै रुटको भाडादर पनि यात्रुले वेवसाइडबाट हेर्न सक्नेछन्,’ शर्माले भने, ‘वेवसाइट बनाउने काम तिब्र रुपमा भइरहेको छ । आगामी असारसम्ममा वेवसाइड शुभारम्भ भइसक्नेछ ।’

लामाचौर, बाटुलेचौरबाट छोरेपाटनसम्म सिधा बस
लामाचौर र बाटुलेचौरबाट बगरसम्म मात्र सञ्चालित सेवालाई समितिले विस्तार गरेको छ । अबदेखि बाटुलेचौर र लामाचौरबाट छुटेको बस बगर हुँदै महेन्द्रपुल, न्युरोड तथा नयाँबजार, पृथ्वीचोक हुँदै छोरोपाटनसम्म सिधा सञ्चालन हुने शर्माले जानकारी दिए । ‘यात्रुको सुविधालाई मध्यनजर गरी सेवा विस्तार गरेका हौं,’ शर्माले भने, ‘यो रुटमा हिड्ने यात्रुले बस फेरिरहनुपर्ने झन्झट हटेको छ ।’

बसपार्कका लागि पहल
यसैबीच पोखरा बस व्यवसायी समितिले बसपार्कका लागि पहल गरिरहेकोे शर्माले जानकारी दिए । पोखराकोो चमेरेगुफा तथा त्यसआसपासमा बस पार्क निर्माणका लागि सम्भाव्यता अध्ययन भइरहेको शर्माले बताए । ‘जग्गा भाडामा लिएर बसपार्क सञ्चालन गर्नका लागि तयारी भइरहेको छ,’ उनले भने, ‘समितिकै व्यवस्थापनमा बसपार्क सञ्चालन हुनेछ ।’

बसपार्कका लागि जग्गा तयार भइसकेपछि पुर्वाधार निर्माणमा पोखरा उपमहानगरपालिकालाई आग्रह गर्ने उनले बताए । न्युनतम ६ देखि १० रोपनी जग्गा बसपार्कका लागि आवश्यक पर्ने शर्माले जानकारी दिए । ‘बसपार्क निर्माणपछि पृथ्वीनारायण क्याम्पस अगाडि सडकमा थुप्रिएका सवारी व्यवस्थित हुनेछन्,’ शर्माले भने, ‘सवारी व्यवस्थापनका लागि बसपार्क अनिवार्य छ ।’ बसपार्क निर्माण अभियानमा सबैको सहयोग आवश्यक पर्ने उनले बताए ।

कमेन्टहरु
Loading...