अष्ट्रेलियामा कार दुर्घटनामा स्याङ्जाका दुई नेपाली विद्यार्थीको मृत्यु

पोखरा, १३ साउन /अस्ट्रेलियामा भएको क्यानबेरा नजिक आइतबार भएको सडक दुर्घटनामा दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ ।

स्याङ्जा वालिङकी समिक्षा सुबेदी र स्याङ्जाकै गोपाल भण्डारीको मृत्यु भएको हो । अस्ट्रेलियाको स्नोई माउण्टेनमा हिउँ खेल्न जाने क्रममा उनीहरु सबार कार मोनारो हाइवेमा दुर्घटनामा परेको थियो । उनीहरु स्नोई माउण्टेन भनिने पहाडी क्षेत्रमा हिउँ खेल्न जाने क्रममा दुर्घटनामा परेका हुन् ।

५ जना सवार कार सडकबाट उछिट्टिएको अष्ट्रेलियाको एबीसी समाचार संस्थाले जनाएको छ । कार चालक पोखराकै सागर भट्टराईका साथै संगित देवकोटा र अश्विन कँडेलको उपचार भईरहेको छ । अश्विन सामान्य घाईते मात्रै भए । चालक सागर पनि खतरामुक्त छन् । संगितको अवस्था गम्भिर रहेको जनाईएको छ ।

संगीत र चालक सागरको क्यानबेरा हस्पिटलमा उपचार भइरहेको छ भने अश्विनलाई कुमा हस्पिटलबाट डिस्चार्ज गरिसकिएको छ । बिहान करिब ४ बजे भएको दुर्घटनामा सख्त घाइते सागर र संगितलाई हेलिकप्टरमार्फत उपचारका लागि क्याबेरा लगिएको थियो । कारको दायाँ छेवैमा बसेका समिक्षा र गोपाल दुवैको ज्यान गएको हो ।

सिड्नीबाट शनिबार साँझपख हिँडेको नेपाली विद्यार्थीहरूका १५ जनाको टोली राति उडन रिजर्भमा गएर क्याम्पिङ गरेर बसेको थियो उनीहरू राति उडन रिजर्भमा गएर बसे तर सोही समूहको ५ जनाको एउटा टोली भने रातको दुई बजेतिर नै उठेर एउटा कारमा स्नोइ माउन्टेनतिर लागेको थियो ।

सोही समूहको कार बिहान पखको तीन बजेतिर दुर्घटनामा परेको हो । तीव्र गतिमा रहेको सो कारले सडकमा कंगारु बचाउन खोज्दा दुर्घटनामा परेको घाइते एक विद्यार्थीले बताएका छन् ।

कमेन्टहरु
Loading...