कन्दराको “चन्द्रकोटकी नानी” सार्वजनिक (भिडियो सहित)

पोखरा, ७ बैशाख /पोखराबाट स्थापित भएको नेपालकै चर्चित ब्याण्ड ‘कन्दरा’ को नयाँ गीत “चन्द्रकोटकी नानी” सार्वजनिक भएको छ । शुक्रबार म्युजिक नेपालको अफिसियल युटुबबाट सार्वजनिक गरिएको गीतमा एलिसा राई फिचरिङमा छिन् ।

गीतकार स्वर्गीय विनोद गौचनको शब्दमा रहेको गीतलाई ब्याण्डकै सदस्य सँगीतकार सुनिल थापाले सँगीत भरेका छन् । गीतमा स्वर विवेक श्रेष्ठको रहेको छ । “तिमी पारी, लेककी हे माया, तँगारोमा रुमाल राखी, हङकङ पोखरा, भेंडीगोठैमा” लगायतका दर्जनौ हिट गीत दिएको ब्याण्ड चन्द्रकोटकी नानीबाट आशावादी देखिन्छ ।

लोकफ्युजनमा आधारित रहेर निर्माण गरिएको गीतमा गाउँ परिवेशमा बोलिने टिपिकल शब्दलाई प्रस्तुत गरिएको पाईन्छ । नानी, मोही, ङलो लगायतका शब्दले मन छुन्छन् । बिरेठाँटी गाउँ सहित मोदी नदीको प्रचार पनि गीतमा गरिएको छ ।

काठमाडौंको चन्द्रकोटको सेरोफेरोमा रहेर छाँयाकन गरिएको गीतको म्युजिक भिडियोलाई प्रशन्न पौडेलले निर्देशन गरेका हुन् । मोहित मुनालले सँगीत संयोजन गरेको गीतको म्युजिक भिडियोलाई विदुर पाण्डेले खिचेका हुन् । टेकेन्द्र शाहको सम्पादन रहेको गीतमा विवेक श्रेष्ठ एलिसाको अपोजिटमा देखिएका छन् ।

पोखरा, माछापुच्छे्र र कन्दरा एक अर्काका परिपुरक ः विवेक श्रेष्ठ

पोखरा, माछापुच्छ्रे र कन्दरा एक अर्काका परिपुरक रहेको गायक विवेक श्रेष्ठले बताए । विगत २७ वर्ष देखि आफ्ना गीतहरु मार्फत पोखरा, माछापुच्छ्रे र समस्त नेपाललाई विश्वमा चर्चित बनाउन ब्याण्डले उल्लेखनिय भूमिका खेलेको श्रेष्ठ बताउछन् ।

चन्द्रकोटकी नानी पनि यसैको निरन्तरता भएको उनको भनाई छ । स्वर्गीय गीतकार गौचनले आफ्ना सहपाठीहरु सँग अक्षर यात्राको क्रममा पोखरा आसपासका गाउँहरु घुम्दा, चन्द्रकोटको सेरोफेरोमा लेखिएको गीतनै “चन्द्रकोटकी नानी” भएको श्रेष्ठले बताए । उनका अनुसार ब्याण्डले लोकपप शैलीमा गीतलाई जिवन्त दिने प्रयास गरेको छ ।

शुक्रबार गीत सार्वजनिक भए सँगै प्रतिक्रिया पनि राम्रो आइरहेको उनि बताउछन् । यो गीतले कन्दरालाई थप उचाईमा पुर्याउने उनको विश्वास छ ।

कमेन्टहरु
Loading...