पोखरामा नाटक ‘बितेका कुरा’ मञ्चन सुरु

पोखरा, ४ जेठ/पोखराको ग्रैहपाटनमा सञ्चालनमा आएको पोखरा थिएटरको गन्र्धव नाटकघरमा बिहिबारबाट नाटक ‘बितेका कुरा’ मञ्चन सुरु भएको छ । यसअघि पोखरा थिएटरको पहिलो प्रस्तुतीमा नाटक सिरुमारानी मञ्चन भएको थियो ।

पहिलो नाटकमा जस्तै दर्शकको माया पाउने अपेक्षाका साथ मञ्चन सुरु गरिएको यो नाटक पहिलो दिनमा उपस्थित दर्शकले सकारात्मक प्रतिक्रिया दिँदा थिएटर टिम उत्साहित भएको छ । नाटकमा मानिसको विगत र वर्तमान बिचको सम्बन्धलाई चित्रण गरिएको छ । कक्षा ११ को ऐच्छिक नेपालीमा समेत रहेको यो नाटकले दर्शकलाई घरी हसाँउछ, घरी गम्भिर बनाउँदछ । हाम्रो समाजमा घट्ने घटनालाई यथार्थचित्रण गरिएको यो नाटक सन्देशमुलक समेत छ ।

मञ्चन समारोहमा पुगेका संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपती सरुभक्त, कवि तिर्थ श्रेष्ठ लगायतकाले नाटक हेरिसकेपछि प्रतिक्रिया दिदै नाटकले दर्शक साथ पाउने विश्वास व्यक्त गरे । नाटक मार्फत दर्शकको ध्यान खिच्न कलाकारले गरेको मेहनतको उनीहरुले तारिफ गरे ।

नाटकलाई उत्कृष्ट बनाउन पुराना रंगकर्मी प्रकट पंगेनी शिव देखि दिलप्रसाद गुरुङ, धुर्व पौडेल, बबिता मल्ल ठकुरी, प्रसुना भण्डारी, सम्झना सिर्पाली, शरद भण्डारी, सुर्य सुवेदी, रोशन ज्ञवाली, सौरभ तिम्सिना, सिम्रन पौडेलको अभिनय गर्दैछन् । एक घण्टा लामो नाटक जेठ १९ गतेसम्म मञ्चन हुनेछ । सोमबार बाहेक हरेक दिन साँझ ५ बजे नाटक मञ्चन हुनेछ । शनिबार दिउँसो १ बजे अतिरिक्त सो समेत हुनेछ ।

रुपनारायण सिँहले लेखेको यो नाटक पोखरा थिएटरका अध्यक्ष परिवर्तन कार्कीले निर्देशन गरेका हुन् । कार्कीले यसै नाटकबाट निर्देशनमा डेब्यु गरेका हुन् । नाटकको परिकल्पना समेत उनैले गरेका हुन् । नाटक हेर्न सर्वसाधरणका लागि तीन सय तथा पाँच सय रुपैयाँको टिकट काट्नुपर्ने हुन्छ । विद्यार्थीको हकमा भने एक सय रुपैयाँको टिकट लाग्नेछ । नाटकघर सञ्चालनमा आएपछि नेपालका विभिन्न ठाउँका १४ वटा नाटक मञ्चन यहाँ भैसकेका छन् । बितेका कुरा पोखरा थिएटरमा मञ्चन हुने १५ औँ नाटक बनेको छ ।

कमेन्टहरु
Loading...