Ganthan News Pokhara
All news from Pokhara & around

छैठौँ संस्करणको मिस गण्डकीका लागि १० जना छनौट

0

पोखरा, २० साउन/ छैठौँ संस्करणको ‘मिस गण्डकी २०१९’ को पहिलो अडिसनबाट १० जना छनौट भएका छन् । एस.टी क्रिएशन म्यानेजमेन्ट प्रालिको पहिलो चरणमा २० जना मात्र अन्तिम प्रतिस्पर्धाका लागि छनौट गर्ने जनाएको छ ।

पहिलो अडिसनबाट १० जना छनौट भइसकेका छन् भने आगामी भाद्र ६ गते हुने दोस्रो अडिसनबाट १० जना छनौट गरी कुल २० जनालाई प्रतियोगिताको प्रशिक्षणका लागि सहभागी गराइने एसटी क्रियशनका निर्देशक इनिशा दुरा मगरले जानकारी दिएकी छिन् ।

पहिलो अडिसनको निर्णायकमा मुग्लान रेष्टुरेण्टका जनरल म्यानेजर सन्तोष गुरुङ, मिस मगर नेपाल २०१९ की विजेता सनम गर्बुजा मगर, मिस गण्डकी सिजन ५ की फस्ट रनरअप स्नेहा गुरुङ र एसटी क्रियशनका प्रबन्ध निर्देशक तथा कोरियोग्राफर सुरज थापा लगाएत रहेका थिए ।

करीब एक महिनासम्म चल्ने विभिन्न प्रशिक्षणबाट सहभागीहरुले आत्मविश्वास, सामाजिक उत्तरदायित्व, व्यक्तित्व तथा नेतृत्व विकास, बोल्ने कला, सौन्दर्य तथा फेसन सम्बन्धी ज्ञान, आत्मनिर्भरता लगाएतका विषयमा सिक्न पाउने छन् ।

प्रतिस्पर्धीहरुलाई मिस नेपाल २००५ सुगारिका केसी, मिस नेपाल इन्टरनेश्नल २०१७ नीति शाह, कलाकार तथा क्याप्टेन विजय लामा, चलचित्र क्षेत्रका चर्चित कलाकारहरु लगाएत पोखराका सम्बन्धी क्षेत्रमा दक्ष व्यक्तित्वहरुबाट प्रशिक्षण दिइने छ ।

प्रशिक्षणको अवधीमा प्रतिस्पर्धीहरुलाई आत्मविश्वास अभिवृद्धि गराउने हेतुले फोटोसुट, भिडियोसुट तथा अवलोकन भ्रमण समेत गराइने निर्देशक थापाले बताए । गएका वर्षहरुभन्दा यस वर्ष थप गुणस्तरियता तथा व्यापकतालाई मध्येनजर गर्दै कार्यक्रमको गरिमालाई थप उचाईमा पु¥याउने लक्ष्य सहित कार्यक्रमको आयोजना गरिएको उनले बताएका छन् ।

असोजको दोस्रो साता पाँचतारे होटलमा हुने फाइनल कार्यक्रममा विजेता हुने प्रतिस्पर्धीले हरेक वर्ष जस्तै यो वर्ष पनि उपाधीको क्राउन सहित स्कुटर प्राप्त गर्ने छन् । त्यस्तै फस्ट रनरअपले नगद ७० हजार, सेकेण्ड रनरअपले नगद ५० हजार र थर्ड रनरअपले नगद २५ हजार सहित अन्य उपहार प्राप्त गर्ने प्रबन्ध निर्देशक थापाले जानकारी दिएका छन् । प्रतियोगिता सम्पन्न गर्नका लागि विभिन्न व्यापारिक प्रतिष्ठानहरु मार्फत सहयोग आउने क्रम जारी रहेकाले प्रायोजकहरुका विषयमा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी गराइने उनले बताएका छन् ।

अरु सम्बन्धित खबरहरु