कैलालीका हावाहुरी प्रभावितलाई युनाईटेड क्लव पोखराको आर्थिक सहयोग

कैलाली, २३ असार /युनाईटेड क्लव पोखराले कैलाली जिल्लाको हावाहुरी पिडितलाई आर्थिक सहयोग प्रदान गरेको छ । क्लवका प्रतिनिधीहरुले गत जेठको १९ र २३ गते गएको आंधी वेहरी र हावाहुरी प्रभावित क्षेत्रमा पुगी आइतबार राहत स्वरुप ७५ हजार नगद कैलाली जिल्ला कैलारी गाउपालिकाका अध्यक्ष लाजुराम चौधरीलाई हस्तान्तरण गरेको हो ।

सामाजिक सेवामा अग्रणी स्थानमा रहेको युनाईटेड क्लवका निवर्तमान अध्यक्ष सुक बहादुर गुरुङको संययोजकत्वमा पुगेको टोलीले उक्त क्षेत्रमा राहत वितरण गरेको हो । राहत वितरण गर्दै युनाईटेड क्लवका निवर्तमान अध्यक्ष सुक बहादुर गुरुङले शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षण संगै तिहारको अवसरमा देउसी भैलीको आयोजना गरी उठेको रकमबाट विपद ब्यवस्थापन कोष खडा गरी अगाडी वढिरहेको सन्दर्भमा हालै कैलालीको दैवीप्रकोप पिडितलाई उक्त कोषबाट सहयोग रकम प्रदान गरिएको वताए । कुनैपनि वेला नेपालका जुनसुकै क्षेत्रमा भइपरी आउने दैवी प्रकोपका घटनामा परेकालाई सहयोग गर्ने उद्देश्यले राहत कोष खडा गरी क्लव अगाडी वढेको उनको भनाइ रहेको थियो ।

सो अवसरमा वोल्दै कैलारी गाउपालिकाका अध्यक्ष लाजुराम चौधरीले पोखराबाट धेरै टाढा रहेको नेपालको पश्चिम क्षेत्रमा आइ आफ्नो क्षेत्रमा विपदमा परेको जनताहरुलाई सहयोग गरी आफुहरुमाथी ठूलो गुण लगाएको वताउदै धन्यवाद ब्यक्त गरे । आफुहरुले विपदमा परेका जनताहरुलाई एकद्वार प्रणालीबाट राहत सामाग्री प्रदान गरेको वताउदै युनाईटेड क्लवले प्रदान गरेको सहयोग रकम सम्बन्धित जनता समक्ष पुर्याउने समेत प्रतिवद्धता गर्दै अव वर्षा सुरु भए संगै कैलाली बासी बाढिको चपेटामा परी जनधन, पशुचौपाय र घर समेत क्षती हुने गरेकाले यस्ता विपदमा समेत सहयोग गर्न आग्रह गरे ।

उक्त अवसरमा क्लवका द्धितिय उपाध्यक्ष लोक बहादुर थापा, कोषाध्यक्ष गणेश तिमिल्सिना, सचिव सूर्य बहादुर वानिया, सदस्य दिनेश सुनार, कैलारी गाउपालिका वडा नम्बर ७ का अध्यक्ष कमल चौधरी, वडा नम्बर ५ का अध्यक्ष विष्णु प्रसाद चौधरी, गाउपालिकाका योजना तथा अनुगमन अधिकृत वलराम चौधरी, धनगढी स्वास्थ्य चौकीका कृष्ण श्रेष्ठ, कैलारी गाउपालिका वडा नम्बर ७ का उपाध्यक्ष लक्ष्मी चौधरी, गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशी लगायतको सहभागीता रहेको थियो ।

गत जेठको १९ र २३ गते गएको आंधी वेहरी र हावाहुरीमा परी कैलारी गाउपालिकाका ९ वटा वडाका २४ सय ३३ घरधुरी प्रभावित भएका थिए । जसमा पूर्ण रुपमा ९ सय ७३ घरधुरीमा क्षती भएको थियोभने १४ सय ६० घरमा आंशिक क्षती भएको थियो ।

कमेन्टहरु
Loading...