पोखराका सहकारीको अनुगमन सुरु

पोखरा, २० माघ/ पोखरा महानगरपालिकाले सहकारीको अनुगमन गर्न सुरु गरेको छ । सहकारी ऐन तथा नियमावलीको प्रावधान अनुसार महानगर कार्य क्षेत्र भएका सहकारीको अनुगमन गर्न महानगरपालिकाले सुरु गरेको हो ।

वित्त सुशासन, संस्थागत सुशासन कायम गराई सहकारीको दीगो सञ्चालन, स्तरीकरण, एक रुपता, वर्गाीकरणमा सहयोग गर्ने नीति, विधि र प्रविधिमा सहयोग गर्न सहकारीको अनुगमन थालिएको पोखरा महानगरपालिकाको सहकारी समितिका अध्यक्ष तेजनारायण अधिकारीले जानकारी दिए । उनका अनुसार सहकारीको वास्तविक अवस्थाको पहिचान, तथ्यांक संकलन, सहकारी ऐन, नियमावली लागू, सम्पत्ति शुद्धीकरण निर्देशिका र समसामयिक कानुनको पालना सम्बन्धमा सहकारी संस्थाको विश्लेषण गर्न अनुगमनले सघाउने अधिकारीले बताए ।

पहिलो चरणमा ५० वटा सहकारीको अनुगमन गरिने र अनुगमन गर्न ५ वटा टिम बनाइएको अधिकारीले बताए । सोमबार पोखरा ३ मोहोरिया टोलमा रहेको करुणा बचत तथा ऋण सहकारी संस्था र पोखरा १ को समावेशी बचत तथा ऋण सहकारी संस्थामा अनुमगन गरिएको सहकारी शाखाका अधिकृत अर्जुन नेउपानेले बताए । सोमबार सहकारी विज्ञ ज्ञानबहादुर कार्कीको संयोजकत्वमा सहकारी समितिका सदस्य तथा वडा नम्बर २७ का वडाअध्यक्ष पूर्णकुमार गुरुङ, सहकारी शाखाका नउपानेको टिमले अनुमगन गरेको हो ।

५० वटा सहकारीको अनुमगन गरेपछि प्रतिवेदन तयार गरिने सहकारी सदस्य गुरुङले बताए । विशेष गरी सहकारीमा वित्तीय अनुशासन, संस्थागत सुशासन अवस्था र सहकारीको मर्म र उद्देश्य अनुरुप सञ्चालन भएका छन् कि छैनन् त्यसबारे अनुगमन गरिने छ । सहकारी संस्थाको योदानको कदर गर्दै स्थानीय विकासको साझेदार बनाउने, असल काम गर्ने संस्था र व्यक्तिलाई सम्मान तथा पुरस्कृत गर्ने, गलत कार्य गर्ने संस्था वा व्यक्तिलाई कानुनी दायरमा ल्याई सुसंस्कृति सहकारी क्षेत्र निर्माण गर्ने उद्देश्य अनुगमनको रहेको सहकारी विज्ञ ज्ञानबहादुर कार्कीले बताए ।

पोखरा महानगरमा सूचीकृत नभएका सहकारीलाई सूचीकृत गर्न पनि अनुगमनले सघाउने भनाइ महानगरपालिकाको छ । पोखरा महानगरपालिका ३ सय ५७ वटा सहकारी रहेका छन् । सहकारीको दर्ता, अनुगमन, निरीक्षण तथा व्यवस्थापन गरी सुशासनयुक्त र दीगो सहकारी निर्माणको लागि महानगर सहकारी नियमावली अनुसार अनुगमन थालिएको हो ।

कमेन्टहरु
Loading...