कृषि क्षेत्रमा सघाउन इजरायल तयार ः राजदूत ओमर

पोखरा, ८ जेठ । नेपालका लागि इजरायलका राजदूत बिनी ओमरले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न पूर्वाधार निर्माणमा लाग्न नेपाललाई सुझाएका छन् । उनले २० लाख पर्यटक भित्र्याउने योजना महत्वाकांक्षी भएको बताउँदै राम्रा पर्यटकीय पूर्वाधारले मात्र पर्यटक आकर्षित हुने र उनीहरुको बसाई बढ्ने धारणा पनि व्यक्त गरेका छन् ।

राजदूत ओमर पोखरा उद्योग वाणिज्य संघले मंगलबार आयोजना गरेको नेपाल र इजरायलबीचको व्यवसायिक सहकार्यको सम्भावना विषयक कार्यक्रममा बोल्दै थिए । उनले इजरायलमा गतवर्ष मात्र करिब २१ लाख पर्यटकहरुले भ्रमण गरेको जानकारी दिँदै नेपालमा ठूलो पर्यटकीय सम्भावना भएको उल्लेख गरे ।

अर्को प्रसंगमा उनले इजरायलले कृषिमा गरेको उन्नतिबाट नेपालले लाभ लिनसक्ने बताए । भारतमा इजरायलले अपनाएको आधुनिक कृषि प्रणालीको अनुशरण गर्दै तालीम केन्द्र नै बनेको प्रसंग निकाल्दै उनले भने,‘ नेपालले आवश्यक ठानेमा हामी यहाँ पनि त्यस्तो तालीम केन्द्र निर्माणको लागि सहयोग गर्न सक्छौँ ।’उनले साना किसान बैंकमार्फत हरेक वर्ष ५ सयको हाराहारीमा नेपालीहरु कृषिबारे सिक्न इजरायल जाने गरेको बताउँदै त्यहाँबाट फर्केकाहरुले कृषि क्षेत्रमा गरेको प्रगति लोभलाग्दो भएको बताए ।

‘तपाईँहरु हेरेर नै विश्वास गर्न सक्नुहुन्छ’, उनले भने,‘हाम्रो देशको ठूलो रकम सुरक्षामा खर्च हुन्छ, त्यसले गर्दा हामीले प्रविधि विकासमा जोड दियौँ र सानो ठाउँबाट धेरै उत्पादन गर्न सक्ने भयौँ ।’ उनले नेपाली अर्थतन्त्र उकास्न कृषिमा आधुनिकीकरण महत्वपूर्ण हुने सुझाव पनि दिए । राजदूत ओमरले संसारभर व्यापारको भाषा एउटै हुन्छ भन्दै पोखरा र इजरायलका व्यवसायीहरुबीच सहकार्यको क्षेत्र खोज्ने आश्वासन पनि दिए ।

कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष नारायण कोइरालाले नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको कार्यकाल अर्थात सन् १ जुन १९६० बाट सुरु भएको नपाल र इजरायलबीचको सम्बन्ध ऐतिहासिक भएको बताए ।

कार्यबाहक अध्यक्ष कोइरालाले इजरायलको कृषि र घरेलु क्षेत्रमा काम गरेका नेपालीहरुले त्यहाँबाट फर्केपछि गरेको उन्नतिको चर्चा गर्दै इजरायलको थोपा सिंचाईको प्रयोग, उत्पादकत्व बढाउन प्रयोग गरिने आधुनिक प्रबिधि तथा कठिन श्रमको समिश्रण अनुकरणीय भएको बताए । उनले इजरायलको अन्तर्राष्ट्रिय सहयोग नियोग ( मसाभ)ले मानव संशाधन विकास,कृषि, चिकित्साशास्त्र,स्वास्थ्य, नविकरणीय उर्जा,वातारण सरसफाई र संरक्षणको क्षेत्रमा दिएको योगदानको पनि स्मरण गरे ।

नेपालको पर्यटन क्षेत्रमा इजरायली पर्यटकहरुको ठूलो योगदान रहेको बताउँदै उनले भने,‘नेपाल सरकारले सन् २०२० लाई नेपाल पर्यटन वर्ष घोषणा गरेको सन्दर्भमा यहाँबाछ हामीले सहयोग प्राप्त हुने अपेक्षा गरेका छौँ । ’उनले नेपालबाट अहिले निर्यात हुँदै गरेका जुट, गलैँचा, जुस, तरकारीजन्य उत्पादन,सूर्तिजन्य उत्पादनहरुको ब्यापार प्रवद्र्धनमा सघाउने आग्रह गर्दै निकासीजन्य बस्तु उत्पादनको क्षेत्रमा संयुक्त लगानीको आह्वान पनि गरे ।

कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका वाणिज्यतर्फका उपाध्यक्ष पवनकुमार प्रजापतिले सानो देश भए पनि इजरायलले गरेको आर्थिक उन्नति सबैको लागि अनुकरणीय भएको बताए । उनले शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिको व्यावसायिकरणमा जोड दिँदै आएको पोखरा उद्योग वाणिज्य संघ कृषि क्षेत्रमा इजरायलसँग साझेदारी गर्न तयार रहेको उल्लेख गरे ।

कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका महासचिव अर्जुन पोखरेलले राजदूतको पोखरा भ्रमणसँगै पोखरा उद्योग वाणिज्य संघ र इजरायलबीचको सम्बन्धमा नयाँ आयाम थपिएको बताए । पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य किर्तिबल्लभ त्रिपाठीले साहशिक पर्यटनमा रमाउने इजरायलीहरुलाई नेपालमा पर्यटनका अन्य गतिबिधि पनि हुन्छन् भन्ने सन्देश प्रवाह गर्न राजदूतसँग आग्रह गरे ।

कमेन्टहरु
Loading...