खुकुलो नबनाइए लकडाउन अवज्ञा गर्नसक्ने पोखरा उद्योग वाणिज्य संघको संकेत

पोखरा, २१ जेठ / पोखरा उद्योग वाणिज्य संघले जारी लकडाउनको अवज्ञा गर्नसक्ने संकेत गरेको छ । संघले लकडाउन खुकुलो बनाउन माग गर्दै आफूहरुलाई अवज्ञामा उत्रन बाध्य नपार्न सरोकारवाला निकायहरुसँग आग्रह पनि गरेको छ ।

गण्डकी प्रदेश सरकारले अत्यावश्यक सेवा, उद्योग र निर्माण क्षेत्रका काम सुचारु राख्दै लकडाउन खुकुलो बनाउने निर्णय गरेको र समय तालिका मिलाएर लकडाउन खुकुलो बनाउन प्रदेशदेखि संघ सरकारसम्म लविङ गरिएको बताउँदै संघले सरकारलाई यो विषयमा गम्भीर बन्न पनि सुझाएको छ ।

पोखरा उद्योग वाणिज्य संघले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दामु अधिकारीले कोरोना संक्रमण कहिलेसम्म जारी रहन्छ भन्ने निश्चित नभएको बेला लकडाउन कायम राख्नु जायज नभएको तर्क गरे । उनले कोरोनाबाट भन्दा अन्य रोगबाट मृत्यु हुनेको संख्या बढी भएको तथ्य पेश गर्दै लकडाउन जारी रहे भोकले मर्ने अवस्था आउनसक्ने बताए ।

‘हामी समय तालिका अनुसार व्यवसाय खोल्नुपर्ने पक्षमा छौं । समय तालिका मिलाइदिए हामी त्यही अनुसार अघि बढ्छौं । सुरक्षाका सबै प्रबन्ध मिलाउन हामी तयार छौं’,पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्ति वाचन गर्दै उनले भने,‘ हामी उपभोक्ताहरुलाई पनि सचेतता अपनाउँदै उपभोग्य बस्तु खरिद गर्न आह्वान पनि गर्दछौं । हामीलाई लकडाउनको अवज्ञा गर्न बाध्य नपारियोस् र उचित प्रबन्ध सरकारबाटै होस् भन्ने हाम्रो माग हो ।’

संघले भोकले गाँजेपछि मृत्युको डर कम हुँदो रहेछ भन्दै अन्य कुराको विकल्प भए पनि भोकको विकल्प भोजन नै भएकाले भोजन जुटाउन काम अपरिहार्य रहेको तर्क पनि गरेको छ ।‘अर्कोतर्फ, लकडाउन साधन रहेछ, साध्य हैन रहेछ ।

लकडाउनले सृजित विषम परिस्थितिमा बाँच्नकै लागि भए पनि यसको प्रकृति खुकुलो बनाउनुको विकल्प रहेनछ भन्ने निष्कर्षमा पुग्न हामी बाध्य भयौं’, विज्ञप्तिमा भनिएको छ,‘ पोखरा उद्योग वाणिज्य संघले केही दिनअघि बस्तुगत संघका साथीहरुसँग गरेको भर्चुअल बैठकले पनि ‘सुरक्षा प्रबन्ध मिलाएर, आलोपालो रुपमा समय तालिका अनुसार सबै व्यवसाय खुलाउनुपर्ने’ राय दिएकाले पनि हामी यो निर्णयमा पुगेका हौं ।’

संघले पोखरा महानगरपालिकाका केही वडाहरुले तरकारी नष्ट गरेकोमा कडा आपत्ति जनाउँदै दोषीमाथि कारवाहीको माग दोहो¥याएको छ । संघले यो विषयमा मंगलबार नै जिल्ला प्रशासन कार्यालय र मुख्यमन्त्री कार्यालयमा पुगी कडा आपत्तिसहित कारवाहीको माग गरेको थियो ।

‘विश्व स्वास्थ्य संगठनले तरकारीबाट कोरोना सर्दैन भनेको सन्दर्भमा अमूक व्यक्तिबाट भएको यस्तो कार्यले व्यवसायीले भोगेको क्षति एकातिर छ भने अर्कोतर्फ अराजकता फैलने खतरा बढेको छ’, विज्ञप्तिमा भनिएको छ,‘ अन्तरदेशीय, अन्तर प्रदेश तथा अन्तर स्थानीय निकाय व्यापार रोक्ने अधिकार कसैलाई पनि छैन ।’ संघले नेपाल सरकार अर्थमन्त्रालय मातहतको आन्तरिक राजश्व विभागले यही जेठ २५ गतेभित्र आय कर, मूल्य अभिबृद्धि कर, अन्तःशुल्कको विवरण र कर रकम दाखिला गर्न गरेको सूचनाप्रति पनि कडा आपत्ति जनाउँदै आन्दोलनको चेतावनी दिएको थियो ।

यद्यपि, राजश्व विभागले कर दाखिलाको समयसीमा असार ७ गतेसम्म लम्ब्याई सकेको छ । संघका महासचिव अर्जुन पोखरेलले असार ७ गतेसम्मको समयसीमा पनि अपुग हुने प्रतिक्रिया दिए । उनले संघले असार मसान्तसम्म सयमसीमा बढाउन आग्रह गरेको स्मरण गर्दै तत्काल कर तिर्न आऊ भन्नु राज्यको स्वेत आतंक भएको प्रतिक्रिया दिए ।

पत्रकार सम्मेलनमा बोल्दै गण्डकी प्रदेशका सभासद तथा संघका पूर्वअध्यक्ष विन्दुकुमार थापाले पीसीआर टेष्टको गति बढाएर उद्योग/व्यवसाय खोल्नेतर्फ ध्यान दिन प्रदेश सरकारलाई आग्रह गरे । उनले कोरोना कोषमा भएको ११ करोड पैसा राहत र कोरोना नियन्त्रणमा खर्चनुपर्ने माग पनि गरे । उनले सधैं व्यवसाय बन्द गरेर बस्न नसकिने भन्दै लकडाउन खुकुलो नबनाए सुरक्षाका प्रबन्धसहित व्यवसाय खोल्नुको विकल्प नभएको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष तथा संघका पूर्वअध्यक्ष संजिवबहादुर कोइरालाले निजी क्षेत्रले सरकारलाई पहिल्यै लकडाउन खुकुलो बनाउन सुझाव दिएको स्मरण गर्दै भने,‘ सरकारलाई अहिले पैसा चाहिएको छ, व्यवसाय नभए कहाँबाट राजश्व उठ्छ, कर किन चाहिन्छ भन्ने र व्यापार किन खोल्नुपर्छ भन्ने सरकारले बल्ल बुझ्यो होला ।’ उनले यो वा त्यो बहानामा बाहिरबाट आएका सामान र तरकारी रोक्ने अधिकार कसैलाई नभएको पनि बताए ।

संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले राज्यलाई कर तिरेर व्यवसायीहरुलाई यो वा त्यो बहानामा मानमर्दन नगर्न सरकार र स्थानीय प्रशसनसँग माग गरे । उनले गण्डकी प्रदेश सरकारले नै लकडाउन खुकुलो बनाउने घोषणा गरेको स्मरण गर्दै आउँदो जेठ २५ गतेसम्म आफूहरुले प्रतीक्षा गर्ने र त्यो बेलासम्म पनि कुनै निर्णय नभए बाध्य भएर व्यवसाय खोल्ने जानकारी पनि गराए । कार्यक्रममा पत्रकारका साथसाथै विभिन्न बस्तुगत संघका अध्यक्ष/प्रतिनिधि तथा उद्योगी/व्यवसायीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

Posted by Ganthan.com on Wednesday, June 3, 2020

कमेन्टहरु
Loading...