पोखरामा काठमाण्डौको लोकप्रिय मट्का चिया

पोखरा, २७ पुस/चियाका पारखीहरुले अव पोखरामा पनि मट्का चियाको स्वाद लिन पाउने भएका छन् ।

पोखरा महानगरपालिका वडा नं १५ घलेचोक स्थित हालसालै खुलेको ‘हट एण्ड स्पाइसी’ क्याफेले पोखरेली चिया पारखीलाई मध्यनजर गर्दै पोखरामै मट्का चियाको सेवा दिन लागेको हो ।

मट्का माटोले बनेको कपमा बाक्लो दुध, बिशुद्द चिया र मसला हालेर तयार पारिएको बिशेष प्रकारको स्वादिष्ट चिया हो । माटोको भाँडाले चियामा भएको पानीको मात्रा सोस्ने हुँदा पनि मट्का चिया अझ स्वादिलो हुने गर्छ ।

यसअघी क्याफेले जेरी पूरी तरकारी लगायतका भेज परिकार पस्कदै आएकोमा काठमाण्डौमा मट्का चिया पिउनेको भीड देखेर पोखरामा पनि शुरु गरिएको क्याफेका संचालक मध्येका एक प्रकाश लामाले बताउनुभयो ।

लामाका अनुसार आफ्नै फार्मबाट उत्पादित दूधमा पानी नमिसाई बिशेष प्रकारको चिया र मसलाको संयोजनबाट मट्का तयार पारिन्छ । एक कप मटकाको मूल्य रु ३५ पर्छ । झट्ट हेर्दा सामान्य चिया भन्दा महँगो लागेपनि मट्का चिया पिईसकेपछी उपभोक्ताले वास्तविक चियाको सन्तुष्टी प्राप्त गर्ने उहाँको दाबी छ ।

त्यसो त माटोको भाँडा खर्चिलो र अरु चियाको तुलनामा फरक हुने भएकाले पनि तुलनात्मक रुपमा मट्का चिया महँगो पर्नेछ ।

घलेचोक शाखा संचालनको छोटो समयमै क्याफेमा उत्पादित मट्का दही, शुद्द घ्युमा बनाइएको जेरी, रसवरी, पेडा र बिभिन्न प्रकारका केक ग्राहकको रोजाइमा पर्न थालेका छन् । पोखरामा ‘हट एण्ड स्पाइसी’ का आठ वटा शाखाहरु रहेका छन् ।

कमेन्टहरु
Loading...