कंचनपुर, ११ चैत / जाउँ है पोखरा अभियान अन्तर्गत पश्चिम नेपालका विभिन्न क्षेत्रमा प्रवद्र्धनात्मक अभियान संचालन गरिरहेको पश्चिमाञ्चल होटल संघ पोखराको टोलीले धनगढी र कंचनपुरमा सरोकारवालासँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
१६ वर्ष अघि नेपाली पनि पर्यटक हुन सक्छन् भन्ने मान्यता अनुरुप सुरु भएको यो अभियानप्रति पश्चिम नेपालका पर्यटन व्यवसायी र स्थानीयमा समेत निकै चासो र उत्सुकता रहेको अभियानका संयोजक एवं संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । पर्यटनको विकासको लागि प्रवद्र्धनको पाटो निकै महत्वपूर्ण हुने भन्दै तुलाचलने २०६८ सालमा पनि पश्चिम नेपालका विभिन्न ठाउँमा जाउँ है पोखरा अभियान संचालन गरिएका स्मरण गराए ।
संघका सल्लाहकार एवं होटल संघ नेपालका केन्द्रिय सदस्य विप्लव पौडेलले १० वर्षे द्वन्द्वको निकै कठिन अवस्थामा जाउँ है पोखरा अभिायन सुरु गरिएको स्मरण गराउँदै यो अभियान नेपालको आन्तरिक पर्यटन प्रवद्र्धनमा कोशेढुंगा सावित भएको बताए । संघले यो अभियानलाई निरन्तरता प्रदान गर्ने बताउँदै पौडेलले यही अभियानका त्रममा पोखरा आन्तरिक पर्यटनको अकुपेन्सी ५० प्रतिशत नाघेको भनाई सुनाए ।
पोखरामा यही चैत २८ गते देखि आगामी वैशाख २ गते सम्म संचालन हुने १५ औं फेवा नव वर्ष महोत्सव २०७५ मा सहभागिताका लागि समेत भ्रमणरत टोलीले यस क्षेत्रका व्यवसायी र स्थानीयलाई निमन्त्रणा प्रदान गरेको छ । पर्यटन, संस्कृति र खानालाई जोड दिएर आयोजना हुने यस महोत्सवले समेत पोखराको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको संघले जनाएको छ ।
जाउँ है पोखरा अभियानकै क्रममा आयोजित अन्तरक्रिया कार्यक्रममा संघले छुटसहितको विभिन्न पर्यटकीय प्याकेज समेत सार्वजनिक गरेको छ । घुमघाम, शैक्षिक भ्रमण र मधुमासका दुई खाले गरी कूल ४ वटा प्याकेजहरु सार्वजनिक गरिएको संघका महासचिव गणेशराज पहारीले जानकारी दिए । यी प्याकेजहरु पोखराका बस्न र रमाउन दुई हजार नौ सय रुपैयाँदेखि २१ हजार एक सय १० रुपैया विचका रहेका छन् ।
यसै त्रममा धनगढीमा आयोजित कार्यक्रममा बोल्दै होटल व्यवसायी संघ कैलालीका अध्यक्ष कमल बमले पर्यटन प्रवद्र्धनका लागि पोखरा र कैलालीका पर्यटन व्यवसायीविच सहकार्य आबश्यक भएको बताए । पश्चिम नेपाल हुँदै भारतबाट नेपाल प्रवेश गर्ने पर्यटकलाई पोखरा पठाउने र पोखराबाट समेत आन्तरिक पर्यटक पश्चिम नेपाल घुम्न आउने वातावरणलाई थप बढवा दिनुपर्ने सुझाव उनको थियो ।
महेन्द्रनगरको कंचनपुरमा आयोजित कार्यक्रममा होटल व्यवसायी संघ कंचनपुरका अध्यक्ष परमानन्द भण्डारीले सुन्दर सुदुर पश्चिमको नारा सहित आफूहरु रारा ताल सहित पश्चिम नेपालको प्रचार गर्न खोजिरहेको जानकारी गराउँदै पर्यटनको हिसावले सो क्षेत्र निकै संभावनायुक्त भएको भनाई राखे । नेपालको प्रद्र्धनमा नेपाल पर्यटन बोर्डले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै उनले यसका लागि बोर्डलाई व्यवसायीले घच्घच्याउनुपर्ने भनाई राखे । आगामी दिनमा भारतका नैनीताल लगायत अन्य ठाउँमा समेत प्रवद्र्धनका लागि सहकार्य गरेर अगाडि बढ्न व्यवसायीहरु सहमत भएका छन् ।
आन्तरिक पर्यटनकै सन्दर्भमा पोखराबाट भरतपुर र भैरहवा सम्म सिधा हवाई सेवा दिइरहेको बुद्ध एयरले आगामी वैशाख १ गतेबाट पोखरा–नेपालगंज रुटमा समेत सिधा उडान सेवा प्रदान गर्न लागेकोमा पोखरा र पश्चिम नेपाल दुबै क्षेत्रका व्यवसायी खुशि भएका छन् । बोर्डर टाउन सेल्स मिसन अन्तर्गत भारतका विभिन्न ठाउँमा चलिए पोखरा नाम दिएर २०१२ देखि नै पश्चिमाञ्चल होटल संघले संचालन गर्दै आएको क्षेत्रीय पर्यटन प्रवद्र्धन अभियानको प्रभावस्वरुप समेत थुप्रै भारतीय पर्यटक नेपाल आउन थालेका छन् ।
नेपालगंजसम्मको सिधा हवाई उडानले भारतीय पर्यटकलाई समेत सिधा पोखरा पुग्न सहज हुने विश्वास गरिएको छ । पश्चिम नेपालका व्यवसायीले लखनउबाट समेत सिधा पोखरा वा पश्चिम नेपालका विभिन्न विमानस्थलसम्म हवाई उडानको व्यवस्था हुन सके पर्यटकलाई यस क्षेत्रको भ्रमणका लागि आउन सहज हुने सुझाव कार्यक्रममा राखिएको थियो । चैत नौ गतेबाट सुरु भएको यस पटकको जाउँ है पोखरा अभियान अन्तर्गत आइतबार सुर्खेतमा र सोमबार नेपालगंजमा कार्यक्रम संचालन हुने तालिका तय भएको छ ।