फेवा नव बर्ष महोत्सवमा सुरक्षामा कमि हुन नदिने सुरक्षा निकायको प्रतिबद्धता

पोखरा, २६ चैत ः पोखराको बसुन्धरा पार्कमा आयोजना हुने १३ औं फेवा नव वर्ष महोत्सवलाई सुरक्षित बनाउन कास्की र समग्र पश्चिमाञ्चल स्थित सुरक्षा तथा प्रसाशनिक निकायले सघाउने विश्वास दिलाएका छन् ।महोत्सव आयोजक पश्चिमाञ्चल होटल संघ पोखराले विहिबार आयोजना गरेको सुरक्षा सम्बन्धि छलफल कार्यक्रममा कास्की जिल्ला र पश्चिमाञ्चल स्थित सुरक्षा तथा प्रसाशनका प्रमुखहरुले त्यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

फेवा तालको किनार बसुन्धरा पार्कमा यही चैत २८ देखि आगामी बैशाख २ गतेसम्म फेवा नव वर्ष महोत्सव हुँदै छ ।  कार्यक्रममा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले महोत्सवलाई आबश्यक सुरक्षा दिन कुनै कसर बाँकी नराखिने तर नागरिकको गुनासो नआउने गरी महोत्सव गर्न सुझाव दिए । महोत्सवमा आबश्यक मात्रामा अस्थायी शौचालयहरुको समेत व्यवस्था गर्न सुझाव दिंदै उनले सफाईको पक्षलाई पनि ध्यान दिन आग्रह गरे ।

कास्कीका प्रहरी प्रमुख एसपी घनश्याम अर्यालले महोत्सवको सुरक्षामा कुनै कमि हुन नदिइने आश्वासन दिंदै पार्किङ व्यवस्था जिम्मेवार र व्यवस्थित रुपमा अगाडि बढाउन आग्रह गरे । सुरक्षा खाका बनाई सुरक्षा निकायसँग सहकार्य गरेर अगाडि बढ्न उनले संघसँग आग्रह गरे ।
सो अवसरमा पश्चिमाञ्चलका सहक्षेत्रीय प्रशाशक दिवाकर बास्तोलाले महोत्सवको अम्दानी मध्ये केही रकम पार्क संरक्षणमा समेत छुट्याउन सुझाव दिंदै महोत्सवलाई सभ्य रुपमा संचालन गर्न आग्रह गरे ।

पश्चिमाञ्चलका डीआईजी कमलसिंह बमले महोत्सवाई सुरक्षित बनाउन सुरक्षा निकायले सक्दो पहल गर्ने बताउँदै पार्किङलाई व्यवस्थित बनाएर अगाडि बढ्न सुझाव दिए । कार्यक्रममा महोत्सवका संयोजक एवं संघका प्रथम उपाध्यक्ष विकल तुलाचनले फेवा महोत्सव बारे जानकारी प्रस्तुत गर्दै महोत्सवका उद्धेश्य र आकर्षणबारे प्रष्ट पारेका थिए ।

संघका अध्यक्ष भरतराज पराजुलीले फेवा महोत्सव संघले आयोजना गरे पनि यो समग्र पोखराको महोत्सव भएको भन्दै सुरक्षा निकायसँग सहकार्य गरेर महोत्सवलाई सुरक्षित बनाइने भनाई राखे । महोत्सवस्थलामा आबश्यक आपतकालिन द्वारहरु राखिएको, शौचालयको व्यवस्था भएको, सीसीटीभी क्यामेराहरु राखिने र स्वास्थ्यको विषयलाई ख्याल गरी एम्बुलेन्स र चिकित्सक समेत व्यवस्था गरिने जानकारी दिए । फेवा तालको संरक्षणका लागि संघले कर्मचारी र डुंगा खटाएको, संघका पदाधिकारीले खल्तीको पैसा हालेर कोष खडा गरेको जानकारी गराए ।

संघका निवर्तमान अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले पर्यटन क्षेत्रमा आतासबाजी लगायतका केही रमाइला कार्यक्रम गर्ने विगतको अनुभव सुनाउँदै आतासबाजी गर्दा आतंक फैलन्छ, चरा, माछालाई असर पर्छ भन्ने कुरामा तुक नभएको भन्दै छिटो बत्ती निभाउँदैमा सुरक्षा मजवुत नहुने भनाई राखे । पर्यटनका मामलामा अलि फराकिलो शोच लिएर अगाडि बढ्न उनले सबैसँग आग्रह गरे । अनुसन्धान निर्देशक केशवबहादुर रेग्मीले पार्कलाई व्युटिफेकसन गर्न संघले पहल गर्नुपर्ने सुझाव राखे ।

कार्यक्रममा सहभागीले सोलार बत्ती मर्मत गरी चालू अवस्थामा पुर्याउन, महोत्सवमा खानाको गुणस्तर र मूल्यमा ध्यान दिन, महोत्सवको आम्दानीबाट निश्चित रकम पार्क र फेवा ताललाई छुट्याउन, महोत्सवमा हेल्प डेक्स र एम्बुलेन्स व्यवस्था गर्न सुझाव राखेका थिए । कार्यक्रममा नेपाल पर्यटन बोर्डका पूर्व सदस्य अग्नी कँडेल, टान पश्चिमाञ्चल संघका अध्यक्ष रामचन्द्र शर्मा, रेवान पोखराका अध्यक्ष गोपिवहादुर भट्टराई, पार्किङ उपसमितिका दयानन्द पोखरेल, पर्यटन व्यवसायी हरि भुजेल, नेपाल विद्युत प्राधिकरण पोखराका प्रमुख सुरज गौतम लगायतले भनाई तथा सुझाव राखेका थिए । कार्यक्रमको संचालन संघका महासचिव भेकेन्द्रकुमार श्रेष्ठले गरेका थिए ।

कमेन्टहरु
Loading...