सिटी रेवान महोत्सव दुई दिन पछि

पोखरा, १७ फागुन / पोखरा नगर रेष्टुरेन्ट तथा बार एसोसिएन (सिटी रेवान) पोखराद्वारा आयोजित ‘सिटी रेवान महोत्सव तथा फुड फेस्टिबल’ दुई दिन पछि सरेको छ । पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनबाट पर्न गएको शोकलाई मध्यनजर गर्दै महोत्सव दुई दिन पछि सारिएको आयोजक सिटी रेवानका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिए ।

फागुन १७ देखि २५ गतेसम्म पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने भनिएको सातौं संस्करणको महोत्सव अब फागुन १९ देखि २७ गतेसम्म हुनेछ । महोत्सवमा राखिने सम्पूर्ण स्टलहरु बुकिङ भइसकेको सिटी रेवानका अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।

महोत्सवमा १ सय ३० वटा स्टल रहनेछन् । १० वटा खाना तथा खाजा सहित कृषिजन्य, हस्तकला, राष्ट्रिय तथा स्थानीय उत्पादनका स्टलहरु रहनेछन् । मेला अवधिमा महाशिवरात्रि परेकाले वृहद आकारको शिवलिंगको प्रतिमा तयार पारिएको छ । शिवरात्रिका अवसरमा शिवलिंगका पूजा गर्ने व्यवस्था मिलाइएको तिमिल्सिनाले जानकारी दिए ।

अन्य मेला तथा महोत्सव भन्दा भिन्न तरिकाले महोत्सव सञ्चालन गर्ने तयारी भइरहेको तिमिल्सिनाले बताए । यस पटक क्यान कास्कीसँगको सहकार्यमा सूचना तथा प्रविधिमेलासमेत सँगै आयोजना भएकाले सबै प्रकारका दर्शकका लागि महोत्सव उपयुक्त हुने तिमिल्सिनाको विश्वास छ ।

राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुति सहित खानाका विभिन्न परिकारहरुको मज्जा महोत्सवमा लिन सकिने उनले बताए । पप कन्सर्ट, गृहिणी नृत्य प्रतियोगिता, भजन चुड्का, ढिडो खाने प्रतियोगिता लगायत विविध मनोरञ्जनात्मक कार्यक्रम महोत्सवमा गरिने महासचिव जीवन दाहालले जानकारी दिए ।

विद्यालय स्तरीय सिटी आइडल प्रतियोगिता महोत्सवको विशेष आकर्षण बन्ने सांस्कृतिक उपसमिति संयोजक यामबहादुर गुरुङले जानकारी दिए । विद्यालय स्तरीय सिटी आइडल प्रतियोगिताका प्रथम हुनेलाई ५१ हजार नगदसहित प्रमाणपत्रबाट पुरस्कृत गरिने सांस्कृतिक उपसमिति सदस्य तुलसा जिसीले जानकारी दिइन् । द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः ३० हजार, २० हजार १० हजार रुपैयाँ नगदसहित प्रमाण पत्र प्राप्त गर्नेछन् ।

सातौं संस्करणको सिटी रेवान महोत्सव तथा फुड फेस्टिवललाई गोर्खा बु्रवरीले मुख्य प्रायोजन गरेको छ । सहप्रायोजकमा वल्डमंग थ्रिएक्स रम र रोयल रिजर्भ ह्विस्की, क्यानभास, पेप्सी, दि मुग्लान रिसोर्टले साथ दिएको छ । होटल पार्टनरमा होटल बेइजिङ लु, होटल मिडटाउन, होटल आरहन्त इन, रेस्टुरेन्ट पार्टनरमा पोखरा हाउस छन् । बैंकिङ पार्टनरमा सिद्धार्थ बैंक जोडिएको अध्यक्ष दीपक तिमिल्सनाले जानकारी दिए ।

कमेन्टहरु
Loading...