एनआइसी एसियाले ल्यायो ‘सुपर चमत्कारिक’ निक्षेप योजना

पोखरा, १४ भदौ/ एनआइसी एसिया बैंकले विविध सुविधा युक्त नयाँ ‘सुपर चमत्कारिक’ निक्षेप योजना ल्याएको छ । बैंकले २२ औं वार्षिकोत्सवको अवसरमा योजना सार्वजनिक गरेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बैंकका गण्डकी प्रदेश प्रादेशिक प्रमुख दीपेन्द्र शर्माले जानकारी दिए ।

यो योजनामा ३० वटा विशेष विशेषता रहेको उनले बताए । यस अघिको चमत्कारिक निक्षेप योजनाको सफलता पछि सपुर चमत्कारिक बचत योजना सञ्चालनमा ल्याएको उनको भनाई छ । ग्राहकलाई धेरै भन्दा धेरै सेवा दिने लक्ष्यसहित यो योजना ल्याइएको शर्माले बताए ।

योजना अन्तर्गत ग्राहकले आफ्नो र आफ्नो परिवारको सुरक्षार्थ १ करोड ३१ लाख ५० हजार रुपैयाँ सम्मको बिमा सुविधा प्राप्त गर्नेछन् । परिवारका सम्पूर्ण सदस्यहरुको दुर्घटनाबाट मृत्यु वा पूर्ण अशक्तताका लागि १ करोड रुपैयाँ सम्मको बिमा सुविधा पाउनेछन् ।

दम्पत्तिका लागि २५ वटा घातक रोगहरुको लागि ३० लाख रुपैयाँसम्मको बिमा सुविधा, परिवारका लागि १ लाख ५० हजार रुपैयाँसम्मको औषधी उपचार बिमा पनि यो योजनामा समावेश रहेको बैंकका प्रादेशिक उपप्रमुख बिनितराज पाण्डेले बताए ।

ग्राहकहरुले देशभरका कुनै पनि बैंकको कुनै पनि एटिएमबाट निःशुल्क रुपमा रकम निकाल्न सक्नेछन् । कर्जामा समेत विशेष छुटका साथै घरमै बसेर बैंकिङ सुविधा प्राप्त गर्न सक्ने, निःशुल्क डिम्याट खाता खोल्न, निःशुल्क इ–कमर्श एक्टिभेसन, निःशुल्क लकर सुविधा, अनलाइन मुद्दतिमा खाताको सुविधा, निःशुल्क क्रेडिट कार्डको सुविधालाई यो योजनाले समेटेको बताइएको छ ।

देशभर २ सय ९७ वटा शाखा कार्यालय रहेको बैंकले ३ सय ४६ वटा एटिएमबाट सेवा प्रदान गरिरहेको छ । ५८ वटा एक्स्टेन्स काउन्टर एवं ४१ वटा शाखारहित बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

कमेन्टहरु
Loading...