१५ खर्ब ५० अर्बको बजेट बुधबार आउने

काठमाडौ, १५ जेठ/सरकारले आगामी आर्थिक वर्षका लागि साढे १५ खर्ब हाराहारीको बजेट आज ल्याउँदै छ । सरकारले बुधबार आगामी आर्थिक वर्ष २०७६ ७७ को बजेट सार्वजनिक गर्न लागेको हो ।

आजको राजधानी दैनिकमा मधुजंग पाण्डे  समाचार लेखेका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार अपरान्ह ४ बजे संघीय संसद्मा आगामी बजेट प्रस्तुत गर्ने छन् । सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ मा दोहोरो अंककोे आर्थिक बृद्धिदर कायम गर्न सकिने लक्ष्य लिएको छ ।

दोहोरो अंककोे आर्थिक बृद्धिदर कायम गर्न ल्याउने आगामी बजेट विशेषगरि सामाजिक सुरक्षा र पूर्वाधारमा केन्द्रित भएर आउने अर्थ मन्त्रालयल स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार राजश्व र करका दायरा गत वर्षको भन्दा केही बढ्ने छ ।

आगामी आवकालागि सरकारले ल्याउदै गरेको करिब साढे १५ खर्ब भन्दाबढीको बजेटमा कर्मचारीको तलबभक्ता १० देखि २५ प्रतिशतसम्म बृद्धि हुने छ । गत वर्ष स्वास्थ्य क्षेत्रमा ५६ करोड ४१ करोड रूपैयाँ विनियोजन गरिएकोमा अहिले बढाएर स्वास्थ विमा बापत ठुलो रकम विनियोजन गरिने छ ।

सामाजिक सूरक्षा कार्यक्रम पूर्ण रुपले लागु गराउन थप बजेट विनियोजन हुँदै छ । करको दायरा थप बढ्ने छ । गत आवमा विनियोजित पुँजीगत खर्चतर्फ ३ खर्ब १३ अर्ब ९९ करोड बाट बढाएर यसपाली ५ खर्ब पु¥याइने छ ।

पुँजीगत खर्च नहुने विगतका अभ्यासलाई न्यूनीकरण गर्न तथा लक्षित पुँजीगत खर्च गरेर यस्ता आयोजनाबाट समय सीमाभित्रै प्रतिफल लिन नसक्ने अवस्थालाई मध्यनजर गरि त्यस्ता आयोजनालाई प्रतिफलयुक्त बनाउन सरकारले यसवर्ष पुँजीगत खर्च केही बढाएर बजेट ल्याउने छ । आगामी बजेटमा हाल खाइपाइ आएको बृद्ध भक्ता प्रति महिना २ बाट बढाएर ३ हजारसम्म पु¥याइने छ ।

यसबाहेक अतिरिक्त रेल, पानीजहाज, ठूला सुरुङ मार्ग, विमानस्थल, विद्युत प्रशारणलाइन लगायत अन्य पूर्वाधार आयोजनाकालागि पनि गत वर्षको भन्दा केही बढी बजेट विनियोजन गरिने छ ।

यसैगरि, कर्मचारीको तलब नबढेको तीन बर्ष भएकाले आगामी आवको बजेटमा निजामति कर्मचारी, सेना, प्रहरी, शिक्षक लगायतको तलव सुविधा १० देखि २५ प्रतिशतसम्म बढाइने छ ।
सरकारले चालु आव २०७५/०७६ का लागि कुल १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट विनियोजन गरेको थियो ।

चालु आवको सो बजेटमा चालु खर्चतर्फ ८ खर्ब ४५ अर्ब ४४ करोड, पुँजीगत खर्चतर्फ ३ खर्ब १३ अर्ब ९९ करोड र वित्तीय व्यवस्थातर्फ १ खर्ब ५५ अर्ब ७१ करोड रुपैयाँगरि कुल १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट विनियोजन गरेको थियो ।

कमेन्टहरु
Loading...