ललितपुर, २९ बैशाख /भाइ बुहारीको हत्या गरेको आरोपमा चर्चित रेकर्डिस्ट उज्वल महतलाई प्रहरीले पक्राउ गरेका छ ।
२५ वर्षीया अञ्जना महतको हत्या गरेको आरोपमा उनी पक्राउ परेका हुन् । उनले खुकुरी प्रहार गरी बुहारीको हत्या गरेको प्रहरीको भनाई छ ।
केहि दिनभित्रै विदेश जाने तयारीमा रहेकी अञ्जनाको उनी आफैले हत्यापछि ‘आमा मैले बुहारीलाई काटें प्रहरीलाई बोलाउनुस्’ भनेको र त्यसपछि प्रहरी पुगेको बताइएको छ ।
महानगरीय प्रहरी वृत्त चापागाउँका डिएसपी राजकुमार खिउजुलेका अनुसार हत्या के कारणले भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।
चर्चित गीत ‘सुन साइली’ लगायत केही अन्य गीतमा संगीत भरेको उनी मानसिक समस्याबाट ग्रसित रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ । स्थानीयले समेत भद्र मानिसका रुपमा लिने महत परिवारमा समेत असल व्यक्त्तित्व रहेको बताइएको छ ।
उज्वलले धारिलो हतियार खुकुरी प्रहार गर्दा अञ्जना लामाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।