नवलपुरमा करेन्ट लागेर २ जनाको मृत्यु, एक जना स्याङजाका

पोखरा, ९ असार / नवलपुरको विनयीत्रिवेणी गाउँपालिकामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

विनयीत्रिवेणी गाउँपालिका–३, सर्दीस्थित खोरण्डे खोलामा लु२ख ४७४४ नम्बरका टिपर धुने क्रममा करेन्ट प्रवाह हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

मृत्यु हुनेमा चालक स्याङ्जा चापाकोट नगरपालिका–६, बस्ने ३२ वर्षीय भरत थापा र नवलपुरको विनयीत्रिवेणी–५ धुरकोट देवराली बस्ने सहचालक १७ वर्षीय आशिष विक रहेका छन् ।

यस्तै सोही खोलामा नुहाइरहेका लु २ ख ४४४८ नम्बरको टिपर चालक ४५ वर्षका कृष्णबहादुर पाण्डे समेत करेन्ट लागेर घाइते भएका छन् ।

मृतक दुई जनालाई शव परीक्षणका लागि दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । घाइतेको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको छ ।

कमेन्टहरु
Loading...