‘काम छ’ बोलाएर घोडाघोडीका मेयरमाथि गोली प्रहार

काठमाडौ, २९ फागुन /कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीलाई सोमबार राति अज्ञात समूहले गोली र खुकुरी प्रहार गरेको छ । गम्भीर घाइते चौधरीको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि नेपालगन्ज मेडिकल कलेज लगिएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

घोडाघोडी– ५ सुख्खडस्थित घरमै रहेका चौधरीमाथि राति ८ः१० बजे आक्रमण भएको हो । उनलाई ‘काम छ’ भन्दै बाहिर बोलाएर गोली र खुकुरी प्रहार गरिएको परिवारका सदस्यले बताए । उनको कम्मरमुनि गोली र टाउको तथा दायाँ हातमा खुकुरीको चोट लागेको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए ।

मेयर चौधरीलाई तत्कालै सुख्खडस्थित घोडाघोडी अस्पताल भर्ना गरिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि राति नै नेपालगन्ज मेडिकल कलेज पुर्‍याइएको जिल्ला प्रहरी कार्यालयका एसपी विनोद शर्मा घिमिरेले बताए । ‘मेयरकोे अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन्,’ एसपी घिमिरेले भने ।

तीन मोटरसाइकलमा आएका उनीहरूको पहिचान र आक्रमणको कारण खुलेको छैन । घटनास्थलबाट प्रहरीले से२प ३६७१ नम्बरको मोटरसाइकल बरामद गरेको छ ।

कमेन्टहरु
Loading...