चीन–भारत बढ्दो तनाव, नेपालमा के प्रभाव पर्छ ?

एजेन्सी, काठमाडौं /नेपालका छिमेकी दुई महाशक्ति छिमेकीबीच तनाव बढ्दै जाँदा कूटनीतिक सन्तुलन, आयात–निर्यात र राष्ट्रिय सुरक्षामा नेपाललाई चुनौती चीन र भारतबीच कूटनीतिक सम्बन्ध चिसिएको छ भने सैन्य तनाव झन् बढेको छ । विवादित भूमि दोकलामबाट सैनिक तुरुन्त पछि हटाउन भारतलाई चेतावनी दिइरहेको चीनले आफ्नो सैन्य शक्ति सीमाक्षेत्रतर्फ अघि बढाएको छ ।

चिनियाँ सेनाको एउटा ठूलो समूह दशौँ हजार टन हतियारसहित तिब्बततर्फ अघि बढेको चिनियाँ जनसेनाको मुखपत्र पिएलएले जनाएको छ । आजको नयाँ पत्रिकामा खबर छ । एक साताअघि मात्र जनसेनाको एउटा समूहले तिब्बती क्षेत्रमा वर्षको सबैभन्दा ठूलो सैन्य अभ्यास गरेको थियो जसको भिडियो चिनियाँ टेलिभिजनबाट प्रसारण गरिएको थियो । चीनले हतियार ओसारेको र युद्ध अभ्यास गरेको क्षेत्र दोकलामबाट नजिकै रहेको हङकङस्थित साउद चाइना मर्निङ पोस्टले जनाएको छ ।

पछिल्ला दिनमा चीनबाट प्रकाशित हुने विभिन्न सञ्चारमाध्यमहरूले भारतलाई निरन्तर चेतावनी दिँदै आएका छन् । चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्स र सिन्ह्वाले पनि भारतीय सेना विवादित भूमिबाट नफर्किएमा भारतले अप्रिय परिणामको सामना गर्नुपर्ने चेतावनी दिँदै आएका छन् । चीन र भारतका सेना सीमावर्ती क्षेत्र दोकलाममा आमनेसामने भइरहेका वेला जनसेनाको अभ्यासलाई अर्थपूर्ण रूपमा लिइएको छ । चीनको पछिल्लो कदमले भारत थप सतर्क र चनाखो बनेको छ ।

यसैबीच, भारतीय सेनाले पनि सीमा क्षेत्रमा टेन्ट टाँगेर २४सै घन्टा निगरानी बढाएको छ । चिनियाँ सेनाले सीमामा गतिविधि नरोकेसम्म भारतीय सेना पछाडि नहट्ने अधिकारीहरूले बताएका छन् । १० हजार फिटको उचाइमा सिक्किमको सीमामा परिचालन गरिएका सेनालाई नियमित रूपमा खाद्यान्न र बन्दोबस्तीका सामग्री पठाइएको भारतीय अधिकारीहरूले बताएका छन् । बन्दोबस्तीका सामग्रीसहित सेना परिचालनले नयाँदिल्ली बेइजिङसँग नझुक्ने संकेत गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

चिनियाँ सेनाले दोकलाममा सडक निर्माण गरेपछि दुई देशबीचको तनाव चुलिएको हो । सो भूमिमा भुटानको दाबी छ र भुटानलाई भारतले समर्थन गरिरहेको छ । चीनले आफ्नो भूमिमा सडक निर्माण गरेको भन्दै भारतलाई हस्तक्षेप नगर्न चेतावनी दिएको छ । सडक निर्माणले सिक्किममा सुरक्षा खतरा बढेको भारतको दाबी छ ।

कमेन्टहरु
Loading...