अति दुःखद खबरः पोखरामा होली मनाउने क्रममा छतबाट लडेर बालकको मृत्यु

रञ्जन अधिकारी
पोखरा, १७ फागुन /हर्ष उल्लासको पर्व मानिने फागूपूर्णिमा अर्थात् होली । तर पोखरामा रमाईलोका बीच दुःखद घटना भएको छ । आफ्नै घरको छतमा होली खेल्ने क्रममा २ तलामाथिबाट खसेर पोखरा लेखनाथ २ विन्दवासिनीका ११ वर्षीय बालक आविष्कार रेग्मीको ज्यान गएको प्रहरीले जनाएको छ ।

रवि रेग्मीका छोरा आविस्कार गण्डकी बोर्डिङ स्कूलमा कक्षा ५ मा अध्ययन गर्दथे । परिवारमा सन्तानका रुपमा आविष्कार र उनकी दिदी मात्रै हुन् । उनी होली मनाउन कै लागि घर आएका थिए । आविस्कार र दिदी छतमा खेल्दै थिए ।

पूर्वान्ह १०ः५५ बजे भुईंमा रहेका एक व्यक्ति (शोकमा रहेका कारण परिचय र नाता नखोल्नु भन्ने आग्रह) लाई रंग पानीको बाल्टी खन्याउने क्रममा बाल्टीसँगै उनी भुईंमा पछारिए । दाहिने कञ्चट र पछाडि गर्धन बजारिएका कारण उनी बच्न सकेनन् ।

तत्काल फिस्टेल हस्पिटल पु¥याईएको थियो होलीको दिन डाक्टर समेत झण्डै एक घण्टा ढिला भएको परिवार सदस्यले जानकारी दिएका छन् । हेलिकप्टर समेत खोजिसकेपनि अन्तिममा फिस्टेल हस्पिटलमै अप्रेशनको तयारी गर्दागर्दै २ घण्टा ढिला भयो । अस्पताल ल्याईसकेपछि पनि आविस्कार कहिलेकाहिँ बोल्दै थिए । विस्तारै अचेत हुँदै गएको विद्यार्थी नेता शेखर गौतमले जानकारी दिए । साढे २ बजेतिर अस्पतालले मृत घोषणा ग¥यो ।

आविष्कारको तीन चार थोपा आन्तरिक रक्तश्राव भएको देखिएको गौतमले जनाए । ‘काठमाण्डौ लैजान पनि ढिलो हुने, फिस्टेलले नै यहीं गर्न सकिन्छ भन्यो । डाक्टरसाब हस्पिटलमा नभएकाले १ घण्टा जस्तै ढिला भयो । पछि अप्रेशन कहाँ के गर्ने भन्दा भन्दै यहीं गर्ने भनेपछि आधा घण्टा नै ढिला भयो । काठमाण्डौ पनि लैजान नसकिने । यहाँ पनि यति सिरियस केसको हल नहुने । साह्रै नराम्रो भयो ।’ – गौतमले भने ।

कमेन्टहरु
Loading...