फेवातालमा डुबेरका लामा १० दिन पछि मृत फेला

पोखरा, २३ जेठ/जेठ १३ गते फेवातालमा डुबेर वेपत्ता रामेछाप घर भई भक्तपुर बस्ने सुप्रिल लामा १० दिनपछि मृतावस्थामा भेटिएका छन् । चार साथीहरुसँगै फेवातालमा आफै डुंगा चलाएर घुमिरहेका बेला चट्याङ पर्दा सुप्रिल लामा डुंगाबाट तालमा खसेर डुबेका थिए ।

उनको शव बुधबार मध्यान्ह फेला परेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक नविन कार्कीले जानकारी दिए । डुबेकै दिनदेखि गोताखोरको टोलीले लगातार खोजी कार्य जारी राखेको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली र नेपाल आर्मी खोजीमा जुटेको थियो । फेवातालको शिर भागतिर गहिरो भागमा डुबेको कारण शव उत्रिन लामो समय लागेको हुन सक्ने डिएसपी कार्कीले बताए ।

भक्तपुरबाट पाँच जना साथीको समूह जेठ १२ गते पोखरा घुम्न आएका थिए । रामेछाप घर भई भक्तपुर सुर्यविनायक बस्ने १८ वर्षीय सुप्रिल लामा, सिन्धुली घर भई सोहि ठाउँ बस्ने १८ वर्षीय बिशाल थापा, भक्तपुरका १९ वर्षीय मन्दिप महत, सो ठाउँका १७ वर्षीय शुशिल कुँवर र काठमाण्डौ सितापाईला घर भएका १७ वर्षीय अनिल रोक्का सहित ५ जना पोखरा आएका थिए ।

फेवाताल घुम्ने क्रममा डुंगामै चट्याङ परेपछि सुप्रिल डुबेका थिए । साथीहरुले बचाउने प्रयास गर्दा समेत लाइफ ज्याकेटको तुना नबानेका कारण सुप्रिललाई तान्न खोज्दा पानीबाट तान्न नसकेको उनीहरुको भनाई छ ।

कमेन्टहरु
Loading...