बाढी पहिरोका कारण मुलुकका विभिन्न जिल्लामा ३२ जनाको मृत्यु (कहाँ कति क्षति भयो हेर्नोस्)

पोखरा, २८ साउन /केही दिनदेखि परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोले देशैभर जनधनको ठूलो क्षति भ​एको छ । बाढी पहिरोमा परी मुलुकका विभिन्न जिल्लामा ३२ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ ।  दर्जनौं घर बगेका छन् भने सयौं विघा जमिन र बालीनालीमा क्षति पुगेको छ ।

बाढीमा परेर केही बेपत्ता भएका छन् । गृहमन्त्री जनार्दन शर्माले शनिबार​ पत्रकारहरुसँग कुरा गर्दै बाढी पहिरोले पुर्‍याएको क्षतिको जानकारी दिएका हुन् । उनले दिएको जानकारी अनुसार झापामा ४, मोरङमा ३, सुनसरीमा ७, बारामा १, सर्लाहीमा १, बाँकेमा ३, पाँचथरमा ३, दाङमा १, सिन्धुलीमा ४, पाल्पामा १, र बर्दियामा १ जनाको बाढी पहिरोमा परी ज्यान गएको छ ।

शुक्रबार रातिदेखि परेको अविरल वर्षासँगै सुनसरीको इटहरीस्थित बूढीखोलामा आएको बाढीले बगाएर सातजनाको मृत्यु भएको हो ।इटहरी उपमहानगरपालिका–४ गैरीगाउँको बस्तीमा एक महिला र तीन बालबालिकाको शव खोलाबाहिर निकालिएको छ भने बूढीपुलको दक्षिण इटहरी–९ को सुकुम्वासी बस्तीबाट पनि तीनओटा शव बाहिर निकालिएको छ । बाढीले बगाएर अरु केही बेपत्ता भएको स्थानीयवासीले जानकारी दिएका छन् ।त्यस आसपासका क्षेत्रमा पनि अरु पनि शव फेला पर्ने स्थिति रहेको र धेरै मानिसको ज्यान गएको हुनसक्ने आशंका गरिएको छ । बूढीखोलामा आएको बाढीले एउटा झोलुंगेपुल तथा गैरीगाउँको ३० र दक्षिणमा रहेको मुसहर बस्तीका पनि एक दर्जन बढी घर बगाएको छ । बस्ती पूरै जोखिममा रहेकाले त्यहाँ उच्च सुरक्षा सतर्कताका साथ सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।

बाढी पहिरो

यस्तै, मोरङमा बाढी र पहिरोमा परी चार जनाको मृत्यु भएको छ । अन्य तीन जना वेपत्ता छन् ।पहिरोले पुरिएर लेटाङ नगरपालिका–१ मालवासेमा ३५ वर्षिया गोपीमाया तामाङको मृत्यु भएको छ । त्यसैगरी वक्राहा खोलामा आएको वाढीले बगाउँदा मिक्लाजुङ गाउँपालिका–२ का ३२ वर्षिय गंगाराम खतिवडाको मृत्यु भएको छ भने लोहन्द्रा खोलाले बगाएर केरावारी गाउँपालिका–९ का ५६ वर्षिय मीनबहादुर थापाको मृत्यु भएको छ ।त्यस्तै घरछेउको नालीमा डुवेर वूढीगंगा गाउँपालिका–६ की ७५ वर्षीया वुद्धिमाया लिम्वुको मृत्यु भएको प्रहरीले जनाएको छ ।उता गछिया खोला र बूढी खोलामा आएको बाढीले बगाएर बलिया खापमा रहेको बृद्ध आश्रमका तीन जनालाई बेपत्ता बनाएको छ ।

यसैगरी, झापामा अविरल वर्षाका कारण आज​ चारजनाको ज्यान गएको छ ।बाढीले बगाउँदा ज्यान जानेमा झापा गाउँपालिका–२ का धनमाया गार्साने, शिवसताक्षी नगरपालिका–१ का विजय पाण्डे, कचनाकवल–३ का राम राजवंशी र झापा गाउँपालिका–३ की कमला दर्लामीको ज्यान गएको छ ।बाढीबाट जिल्लाको दक्षिणी भाग बढी प्रभावित भएको छ । कन्काई, विरिङखोला, निन्दाखोला, मेची नदी र कमल खोलामा आएको बाढीले एक हजार २४९ घर डुवानमा परेका छन् ।अहिले पनि अविरल वर्षा भइरहेका कारण बाढीको सतह अझै बढ्न सक्ने स्थानीय प्रशासनले जनाएको छ ।नदी आसपासका क्षेत्रका बासिन्दालाई अन्यत्र सार्ने प्रयास भएपनि खराब मौसमका कारण त्यो हुन नसकेको प्रहरीले जनाएको छ ।उता, बारामा पनि घर भत्किंदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको सिम्रौणगढ नगरपालिका बडा नम्बर ८ कोचर्बाका ४५ बर्षिय गहनी नाम रहेकी महिला रहेकी छन् ।

यस्तै, शुक्रबार बिहानैदेखिको अविरल वर्षापछि आएको पहिरोले पुरिएर सिन्धुलीमा आज​ बिहान एकै परिवारका चार जनाको ज्यान गएको छ ।सिन्धुलीमाढी, २ नम्बर बजारका उदयबहादुर खड्का परिवारका चार सदस्यको ज्यान गएको हो । आज बिहान करिब २ बजे घरमाथिबाट आएको पहिरोले पुरिएर मृत्यु हुनेमा खड्काकी ३७ वर्षीया श्रीमती दुर्गाकुमार, १५ वर्षीया छोरी शोभा तथा छोरा १० वर्षीया अनिष र ८ वर्षीय मनिष रहेको पारिवारिक स्रोतले जनाएको छ । सिन्धुलीमाढीमा दैनिक ज्याला मजदुरी गर्ने खड्काको परिवार नेपाल पत्रकार महासंघ सिन्धुलीको जग्गामा घर बनाएर बसेको थियो ।जिल्ला प्रहरी कार्यालयको आवासीय भवननजिकैबाट झरेको पहिरोले घर पुरिएको थियो ।

यस्तै, अविरल वर्षाले बाँकेको राप्ती–सोनारी गाउँपालिका–४ लालपुरमा बाढीले घर भत्काउँदा आज एकै परिवारका तीन बालिकाको मृत्यु भएको छ । कविराज थारुको घर भत्कँदा उनका छोरीहरु १३ वर्षीया अन्जु, ९ वर्षीया सरिता र ७ वर्षीया सुस्मिता थारुको मृत्यु भएको हो । लगातार परेको वर्षाले राप्ती नदीमा पानीको बहाव बढ्दा वडा नम्बर–१, २, ३, ४ र ५ का अधिकांश सर्वसाधारण बिचल्लीमा परेका छन् । उता, बाँकेकै पूर्वपश्चिम राजमार्ग अन्तर्गत् अगैया नजिकको पुल भत्कँदा आवागमन अवरुद्ध भएको छ । बिचल्लीमा परेका स्थानीयको उद्धार गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ । सुर्खेतको वीरेन्द्रनगरबाट हेलिकोप्टर मगाइएको स्थानीय प्रशासनले जनाएको छ ।

यसैबिच​, रौतहट जिल्लाको विभिन्न स्थानमा आएको बाढीका कारण करिव ७० प्रतिशत बस्ती डुबानमा परेको छ । देबाही स्थित लाल बकैया नदीको तटबन्ध भत्किएर बाढी बस्तीमा पस्दा जिल्लाको करिव करिव ७० प्रतिशत बस्ती डुबानमा परेको हो । देबाहीमा ३ सयभन्दा बढि बासिन्दा डुबानबाट पीडित बनेका छन् । बाढीबाट जोगिन स्थानीयहरु अग्ला घरहरुमा आश्रय लिइरहेका छन । यस्तै, करुनियामा समेत सोही नदीको तटबन्ध भत्किएर बस्तिमा बाढी पस्दा डुबान भएको छ । गरुडा नगरपालिकाका विभिन्न वडा गरी करीब २ सय घर डुबानमा परेका छन् । डुबानमा परी ६० घर भत्किएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।त्यसैगरी, रौतहटकै गुजरा गाउँपालिकाको हरिहरपुर बस्ती पनि डुबानमा परेको छ ।

यस्तै, विगत चार दिनयताको अविरल वर्षाका कारण सप्तरी जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिकाहरुमा आएको बाढीले करिब दुई हजार २०० घर डुबान परेका छन् । बाढीका कारण करिब ५०० परिवार विस्थापित भएका छन् ।  जिल्लाका खाँडो, जिता, बिहुल, त्रियुगा लगायतका नदीहरुमा आएको बाढीका कारण नगर तथा गाउँका बस्तीहरु डुबानमा परेका हुन् । तिलाठी–कोइलाडी गाउँपालिकाको वडा नम्वर–५ कुशहा र वनरझुलाको बस्तीमा जिता नदीको बाढी पसेका कारण ३५० परिवार घर छाडेर सडक तथा सुरक्षित स्थानमा बसेका छन् । वर्षा नरोकिएका कारण चारैतिर पानी बगिरहेकाले सर्वसाधारणलाई बस्तीबाट सुरक्षित स्थानसम्म पुग्न पनि समस्या भएको छ । सकरपुरा र बेल्हीको करिब ४०० घरमा पानी पसेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

उता, कोशी व्यारेजमा पानीको वहाब आज​ साँझ दुई लाख ८३ हजार क्युसेक प्रतिसेकेन्ड मापन गरिएको छ । अहिले कोशीका ५६ मध्ये ३७ ढोका खोलिएको छ । तत्काल अरु ढोका खोल्नुपर्ने आवश्यकता देखिएकाले गृह मन्त्रालयलाई पत्राचार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी राजेश गिरीले जानकारी दिए ।दुई लाख ५० हजार क्युसेकमाथि गएपछि खतराको संकेतस्वरुप कोशी व्यारेजमा रातो बत्ती बालिसकिएको र रातो झण्डा फहराइएको छ । बहाब तीन लाखमाथि क्यूसेक प्रतिसेकन्ड भएपछि पूर्ण खतरा मानिन्छ । पहाडी जिल्लाहरुमा वर्षा नरोकिएकाले पानीको बहाब अझै बढ्ने उनलेले जानकारी दिए ।

यसैबिच,​ जल तथा मौसम विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले देशैभर मनसुन सक्रिया रहेको भन्दै बर्षा हुने क्रम आईतबार​सम्मै जारी रहने जनाएको छ । अहिले मनसून न्यून चापीय रेखा नेपालको पहाडी क्षेत्र नजिकै रहेको र न्यून चापीय प्रणाली मध्ये तथा आसपासका भागहरुमा सक्रिय रहेको जनाइएको छ । जसका कारण देशैभर मनसूनी गतिबिधि सक्रिय अवस्थामा रहेको र देशका अधिकांश स्थानहरुमा शुक्रबार​देखि वर्षा भईरहेको महाशाखाले जनाएको छ ।देशका केही स्थानहरुमा भने भारी वर्षाको संभावना रहेको भन्दै महाशाखाले आईतबार​ पनि मनसुनी गतिविधि देश भरि नै सक्रिय रहने जनाएको हो । महाशाखाले तटीय क्षेत्रका वासिन्दालाई उच्च सतर्क अवस्थामा रहन पनि आग्रह गरेको छ ।

कमेन्टहरु
Loading...